काठमाडौं– युक्रेन फिफा विश्वकप २०२२ को छनोटनजिक पुगेको छ। युरोपेली विश्वकप छनोट अन्तर्गत हाम्पडेन पार्क ग्लास्गोमा बुधबार राति भएको सेमिफाइनलमा स्कटल्यान्डलाई ३–१ ले पराजित गर्दै युक्रेन प्लेअफको फाइनलमा प्रवेश गर्दै छनोट नजिक पुगेको हो।
युक्रेनको जितमा एन्ड्री यार्मोलेन्को, रोमन यारेमचुक र अर्टिा डोभ्यकले गोल गरे। स्कटल्यान्डका कलुम म्याकग्रेगरले एक गोल फर्काए। खेलको ३३औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई सुरुआती अग्रता दिलाए। ४९औं मिनेटमा रोमन यारेमचुकले गोल गर्दै युक्रेनको अग्रता दोब्बर पारे।
७९औं मिनेटमा कलुम म्याकग्रेगरले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई सहज जित दिलाए।
युक्रेनसँगको हारसँगै स्कटल्यान्डको विश्वकप खेल्ने सपना समाप्त भएको छ। यो खेल गत मार्चमै हुनुपर्ने भएपनि रसियाले युक्रेनमाथि आक्रमण गरेपछि खेल स्थगित गरिएको थियो।
अब युक्रेनले फाइनल प्लेअफमा वेल्सको सामना गर्नेछ। यो खेल आइतबार राति कार्डिफमा हुनेछ। यस खेलमा सफलता हात पार्ने टोली विश्वकपमा छनोट हुनेछ।
कतार विश्वकपका लागि हालसम्म २९ राष्ट्र छनोट भइसकेका छन्। अब वेल्स र युक्रेन, अस्ट्रेलिया, युएईविरुद्ध पेरु तथा कोस्टारिका र न्यूजिल्यान्डमध्येबाट ३ राष्ट्र छनोट हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।