काठमाडौं– सेल्टर नेपालले केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबलसम्बन्धित कार्यक्रम आयोजना गर्ने भएको छ।
सेल्टर नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै 'प्रिजन फुटबल, रिहाबीलिटेसन थ्रु फुटबल' नामक कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको हो।
सेल्टरले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा कार्यक्रम गर्न लागिएको बताएको छ।
जेलभित्र रहेका कैदीबन्दीको मानसिक स्वास्थ्यमा सहयोग पुर्याउनुका साथै उनीहरुमा आत्मविश्वास जगाउने उद्देश्यले कार्यक्रम गर्न लागेको सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्बु ओलीले बताइन्।
‘हामीले खेलाडी, रेफ्री र प्रशिक्षक शिक्षा कार्यक्रम ल्याइरहेका छौं र बन्दीहरूको आत्मविश्वास बढाउन र उनीहरूलाई पहिलेको जीवनमा फर्कनबाट रोक्न मद्दत गर्दछौं। यसले उनीहरूको मानसिक स्वास्थ्यमा पनि मद्दत गर्दछ र समाजको सुधारका लागि काम गर्ने इच्छा विकास गर्दछ,’ ओलीले भनिन्।
यो कार्यक्रम आगामी जुन ५ देखि सुरु हुनेछ। यो एक वर्षभित्र दुई चरणमा सञ्चालन हुने बताइएको छ। यो कार्यक्रमबाट एक वर्षभित्र कुल ४८ खेलाडी तथा समान ३२ जना प्रशिक्षक र रेफ्री प्रशिक्षण गर्ने कार्यक्रम छ।
पहिलो चरण जुनदेखि नोभेम्बर ३० सम्म सञ्चालन हुनेछ र यस चरणमा २४ खेलाडी तथा १६ प्रशिक्षक र रेफ्री उत्पादन गर्नेछ। प्रशिक्षकलाई डी लाइसेन्स, रेफ्रीलाई क्याटोगरी ४ एन्फा रेफ्री प्रमाण पत्र र खेलाडीलाई सहभागी प्रमाण पत्र प्रदान गरिनेछ। रेफ्रीमा भने महिला सेलमा रहेका मात्र छनोट गरिने छ।
यो प्रशिक्षणका लागि प्राविधिक सहयोगमा केन्द्रीय कारागार प्रशासनले छनोट गर्नेछ। दोस्रो चरणको प्रशिक्षण डिसेम्बर १ देखि आगामी वर्षको मे १ मा सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।