काठमाडौं– युरोपेली फुटबल संघ (युईएफए)ले शनिबार युईएफए च्याम्पियन्स लिगको फाइनल करिब आधा घण्टा ढिलो गरी सुरु गरेकोबारे स्वतन्त्र छानबिन गर्ने भएको छ।
पेरिसमा इङ्ग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडबीचको खेल विभिन्न कारणले ३६ मिनेट ढिलो भएको थियो।
युईएफएले आफ्नो प्रतिवेदन सबै सम्बन्धित पक्षबाट प्रमाण जुटाएर स्वतन्त्र अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ। त्यसपछि युईएफएले अर्को कदम चाल्नेछ।
लिभरपुलमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै रियलले च्याम्पियन्स लिगको उपाधि जितेको थियो।
शनिबार राति सम्पन्न खेलमा लिभरपुललाई १–० ले पराजित गर्दै रियलले कीर्तिमानी १४औं पल्ट उपाधि जितेको हो।
पेरिसमा भएको खेलमा रियललाई च्याम्पियन बनाउन दोस्रो हाफमा ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो।
त्यसअघि ४२औं मिनेटमा करिम बेन्जेमाले गोल गरेपनि भीएआरमा अफसाइड ठहरिँदा मान्यता पाएन। ५९औं मिनेटमा काउन्टर अट्याकमा फेडे भाल्भेर्डेको पासमा एलेक्सान्डर आर्नाेल्डलाई बिट गर्दै भिनिसियस जुनियरले ६ यार्ड बक्सबाट सहज फिनिस गर्दै रियललाई जित दिलाएका थिए।
सन् २०१८ पछि च्याम्पियन बन्न सफल भएको रियल कीर्तिमानी १४औं पटक उपाधि जित्न सफल भएको हो। पछिल्लो ९ सिजनमा रियलले पाँचौं पटक च्याम्पियन्स लिग उपाधि जितेको हो
यो सिजन चार उपाधि जित्ने संघारमा रहेको लिभरपुल दुई उपाधिमा खुम्चियो। लिग कप र एफए कप जितेको लिभरपुल प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधिबाट बञ्चित बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।