काठमाडौं– अमेरिकी व्यापारी टाड बोइलीलेले आधिकारिक रुपमा इङ्ग्लिस क्लब चेल्सी खरिद गर्ने प्रक्रियालाई पूरा गरेका छन्। योसँगै बेलायतको संस्कृति, सञ्चार तथा खेलकुद विभागले यसअघि चेल्सीमाथि लगाइएको सम्पूर्ण निलम्बन फुकुवा गरेको छ।
‘नयाँ मालिक भित्रिएसँगै चेल्सीमाथिको सम्पूर्ण निलम्बन हटाइएको छ’, खेलकुद विभागका प्रवक्ताले भने, ‘निलम्बनका बाबजुद पनि चेल्सीलाई फुटबल गतिविधिमा सहभागी हुन कुनै रोक लगाइएको थिएन।’
रोमन अब्रामोभिच रुसी राष्ट्रपति पुटिनका निकट भएको र युक्रेन युद्धमा उनको साथ दिएको भन्दै दुई महिना अघि बेलायत सरकारले अब्रामोभिचको सम्पत्तिमाथि रोक लगाएको थियो। यससँगै अब्रामोभिचको चेल्सी बिक्री गर्ने लक्ष्यले पूर्णता पाएको थिएन।
अब्रामोभिचमाथि प्रतिबन्ध लगाए पनि चेल्सीलाई सिजन २०२१/२२ पूरा गर्न भने कुनै रोक लगाएइको थिएन। चेल्सीमाथि खेलाडी अनुबन्धनमा भने रोक लगाइएको थियो।
क्लबले सोमबार दिउँसो अब्रामोभिचले चेल्सी फुटबल क्लब र सम्बन्धित कम्पनीहरूलाई बोहली र क्लियरलेक क्यापिटलको नेतृत्वमा रहेको लगानी समूहमा बिक्री पूरा गरेको जनाएको छ।
मार्चको सुरुमा पहिलोपटक क्लब बिक्रीको लागि राखिएको थियो। चेल्सी बिक्रीको आह्वानपछि क्लबले १२ विश्वसनीय बोलपत्रहरू प्राप्त गरेको थियो। त्यसपछि अन्तिममा तीन टोली हुँदै अन्तिममा बोहली र क्लियरलेक क्यापिटल कन्सोर्टियमलाई छनोट गरिएको हो।
बोहलीले कुल ४.२५ विलियन पाउन्डमा चेल्सी खरिद गर्ने प्रक्रिया पूरा गरेको गरेका हुन्। जसमा २.५ बिलियन पाउन्डमा क्लबको बिक्री मूल्य हुनेछ। १० वर्षपछि १.७५ विलियन पाउन्ड लगानी गर्ने उल्लेख छ।
खरिद सम्झौतामा १५ दिनअघि हस्ताक्षर गरिएपनि प्रक्रिया पूरा गर्दा समय लम्बिन पुगेको हो। बेलायत सरकार, पोर्चुगली अधिकारी र युरोपेली संघले सबै वित्तीय लेनदेनलाई अनुमोदन गरिसकेका छन्। यससँगै अब्रामोभिचको १९ वर्षे चेल्सीको ‘स्पेल’ समाप्त भएको छ।
‘प्रक्रिया अत्यन्तै गहन र द्रुत टाइमलाइनमा पूरा भएको थियो। यस्तो लेनदेन पूरा गर्न सामान्यतया नौ महिनादेखि एक वर्ष लाग्ने गर्छ। हामीले यो तीन महिनाभन्दा कम समयमा गर्यौं ,’ विज्ञप्तिमा उल्लेख छ,‘हामी हाम्रा पुरुष र महिला फुटबलरहरू, दुवै टोलीका कर्मचारीहरू, हाम्रो एकेडेमीका सबैजना र विशेष गरी थोमस टुचेल र एम्मा हेजलाई यस प्रक्रियामा धैर्यता र समर्थनको लागि धन्यवाद दिन चाहन्छौं। र, अवश्य पनि क्लबको लागि यो कठिन चरणमा हाम्रा साझेदारहरू, स्टाफ र प्रशंसकहरू सबैलाई धन्यवाद।’
अब्रामोभिचले आफ्नो व्यक्तिगत सम्पत्तिको १.५ विलियन पाउन्ड खर्च गरिसकेका छन्। यता, नयाँ मालिकहरूले खर्चलाई निरन्तरता दिने बताएका छन्।
उनीहरुले स्टामफोर्ड ब्रिज, एकेडेमी, महिला टोली र किंग्समेडो (महिला टोली स्टेडियम) मा लगानी गर्न र चेल्सी फाउन्डेशनको लागि निरन्तर दिने बताएका छन्।
अब्रामोभिचले चेल्सी बेचेर कमाएको पैसा युक्रेनमा रूसको आक्रमणपछि पीडितहरूलाई मद्दत गर्न मानवीय परोपकारमा प्रयोग गर्ने बताएका छन्। अब्रामोभिचले व्यक्तिगत रूपमा क्लब बिक्रीबाट लाभ उठाउने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।