मस्को (एजेन्सी)– साउदी अरबका राजा, राजकुमार र शाही परिवारका सदस्य आफ्नो शाही जीवनशैलीका लागि चिनिने गर्छन्। कोही सुनले बनेको सिंहासनमा बस्छन् भने कसैकाे गाडी नै सुनैसुनले सजिएको हुन्छ।
विश्वमा भएको कुनै चिज सायदै उनीहरुको महलमा नहोला। उनीहरुको विलासी जीवनशैलीकाे बेला-बेला चर्चा हुनेगर्छ। केही समय मात्र पनि उनीहरुको सुखसँयलमा तलमाथि पर्नासाथ उनीहरु अतालिने गर्छन्।
यस्तै एउटा घटना साउदी अरबका राजा सलमान बिन अब्दुल अजिजसँग घटेको छ। राजा सलमान बुधबार ऐतिहासिक भ्रमणका लागि रसियाको राजधानी मस्को पुगेका थिए।
आफ्नो प्राइभेट विमान मस्कोमा अवतरण गरेपछि सिँढीबाट तल उत्रिने क्रममा ठूलो समस्या देखियो। सुनैसुनले बनेको हवाइजहाजको सिँढी स्वचालित थियो। राजा विमानभित्रबाट सिँढीमा आइपुगेपछि सिँढी थोरैबेर चलेर रोकियो। यसबाट राजा सलमान अत्तालिएका देखिन्थे। अन्ततः उनी सिँढीका खुट्किलाबाट बिस्तारै बिस्तारै अरुको सहयोगमा ओर्लिएका थिए।
साउदी राजा सधैं ठाँटबाँटका साथ वैदेशिक भ्रमणमा निस्किने गर्छन्। यसपालि पनि उनी आफ्नो जम्बो विमानमा मस्को पुगेका थिए। विमान अवतरण गरेपछि एस्केलेटर (सिँढी) बाट उत्रिने क्रममा बीचैमा सिँढी चल्न बन्द भएको थियो।
सिँढी एक्कासी बन्द भएपछि उनी केही समयसम्म त्यहीँ उभिएका थिए। तर, सिँढीले काम गर्न नसकेपछि उनले पैदल तल उत्रिनुपरेको थियो। यो पूरै घटनाको भिडियो भाइरल भएको छ। भिडियोमा ८१ वर्षीय राजा असमञ्जसमा परेको प्रस्ट देख्न सकिन्छ। उनीसँगै भ्रमण दलमा रहेका अन्य सदस्य पनि यो घटनाले अत्तालिएको भिडियोमा देखिन्छ।
साउदी राजा चार दिनको रुस भ्रमणमा निस्किएका हुन्। यो भ्रमण यस कारण पनि महत्वपूर्ण मानिएको छ, किनभने साउदी राजाको यो पहिलो रुस भ्रमण हो। उनले आफूसँगै डेढ हजार मानिसको टोली लगेका छन्। यति मात्र होइन, उनले फर्निचर, कार्पेट र ८ सय किलो खानाको सामान सँगै लगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।