काठमाडौं– च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस च्याम्पियन रियल मड्रिड र इङ्लिस एफए कप च्याम्पियन लिभरपुल आमनेसामने हुँदैछन्।
रियलले १३ पटक च्याम्पियन्स लिग जितेको छ भने लिभरपुलले ६ पटक जितेको छ। अन्तिम पटक यी दुई टोली २०१८ को फाइनलमा भिडेका थिए। उक्त खेलमा क्रिस्टियानो रोनाल्डो र सर्जियो रामोस जस्ता स्टार खेलाडीले भरिएको रियलले लिभरपुललाई ३–१ गोलअन्तरले पराजित गरेको थियो। त्यतिबेला लिभरपुलका मोहम्मद सलाह चोटका कारण पहिलो हाफमै मैदानबाट बाहिरिएका थिए।
यसपटक टोलीमा रोनाल्डो र रामोस छैनन्, तर रियलका करिम बेन्जेमाले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। आज (शनिबार) राति हुने फाइनल खेलमा पनि उनको भूमिका उत्तिकै अहम् हुने आशा गरिएको छ।
फुटबल विश्लेषकहरुका अनुसार यसपटक लिभरपुलको टोली सन् २०१८ को भन्दा धेरै बलियो र सन्तुलित छ। रियलले लिभरपुललाई कमजोर आँक्दै मैदान उत्रिने छैन। यी दुई टोली च्याम्पियन्स लिगको फाइनलमा अहिलेसम्म दुईपटक भिडेका छन् र दुवैले १–१ खेल जितेका छन्। सन् १९८१ मा लिभरपुलले रियललाई हराएको थियो भने २०१८ मा रियलले लिभरपुललाई हराएको थियो।
यसपटक रियलले फाइनल पुग्न निकै संघर्ष गरेको थियो। अघिल्लो चरणका खेलहरूमा पेरिस सेन्ट जर्मेन (पीएसजी), साविक विजेता चेल्सी र म्यानचेस्टर सिटी जस्ता उत्कृष्ट क्लबहरूलाई पराजित गर्दै रियल उपाधिनजिक पुगेको हो।
अर्कोतर्फ लिभरपुलले इन्टर मिलान, बेन्फिका र भिल्लारियल जस्ता टोलीलाई सहजै हराउँदै फाइनलमा प्रवेश गरेको हो। लिभरपुलले यो सिजन ६२ मध्ये ५७ खेलमा गोल गरेको छ र पाँच आउटलियरमध्ये चारमा कम्तीमा १.७ अपेक्षित गोल गरेको छ। रियलले यो सिजन ५५ मध्ये ४५ खेलमा गोल गरेको छ, पाँच खेलबाहेक सबैमा १.० भन्दा बढी गोल गरेको छ।
लिभरपुलले यो सिजन नकआउट चरणका ६ खेलमा दोस्रो हाफमा १४ गोल गरेको छ भने पहिलो हाफमा ६ गोल गरेको छ। यता, रियलले नकआउट चरणका ६ खेलमा पहिलो हाफमा ८ गोल गरेको छ। यस्तै, दोस्रो हाफमा १५ गोल गरेको छ।
रियलका लागि बेन्जेमा सर्वाधिक गोलकर्ता हुन्, तर टोलीका अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन्। रोड्रिगोले पाँच गोल गरेका छन् भने दुईमा असिस्ट गरेका छन् । योसँगै भिनिसियस जुनियरले टोलीका लागि ३ गोल गरेका छन्। टोलीलाई गोल गर्न मिडफिल्डर लुका मोड्रिचले सघाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।