काठमाडौं– सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका प्लस टू अध्ययन सकेर २० वर्ष पुगेका छोरीलाई बिहे गर्दा ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले पदभार ग्रहण गर्दै गाउँपालिकाभित्रका बाल विवाह न्यूनिकरण र छोरीहरूको उच्च शिक्षामा पहुँच पुर्याउन यस्तो निर्णय गरेको बताएका छन्।
प्लस टू अध्यन सकेका र २० वर्ष उमेर पुगेपछि मात्र बिहे गर्ने छोरीहरूलाई सम्मान स्वरुप उक्त पुरस्कार दिने निर्णय भएको अध्यक्ष महतोको भनाइ छ। पदभार ग्रहणपछि उनले गरेको यो पहिलो निर्णय हो।
चन्द्रपुर गाउँपालिकामा बर्सेनि ५० प्रतिशतभन्दा बढी बालविवाह परिवारबाटै हुने गरेको छ। यस्तै, २० प्रतिशतभन्दा बढी कम उमेरमै भागेर विवाह गर्ने गरेका छन्।
उक्त दरलाई घटाउँदै छोरीलाई शिक्षामा अघि बढाउँदै स्वरोजगार बनाउनका लागि यो निर्णय गरिएको महतोले बताए। उनले यस निर्णयको मुख्य उद्देश्य छोरीहरू आफ्नो खुट्टामा उभिनु र महिला हिंसा अन्त्य गर्नु भएको बताए।
अध्यक्ष महतोले पदभार गर्दै गरेको पहिलो निर्णयले बालविवाह, भागी विवाह, लैङ्गिक हिंसा, घरेलु हिंसाको अन्त्य गर्न महत्त्वपूर्ण भुमिका खेल्ने र गरिब, दलित सहित सबै परिवारका छोरीलाई शिक्षाको मुलधारमा ल्याई उच्च शिक्षा तिर डोर्याउनेमा प्रभाव पार्ने स्थानीय पचु माझी मुसहरले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।