काठमाडौं– बेलायती सरकारले रुसी व्यापारी रोमन अब्रामोभिचको स्वामित्वमा रहेको चेल्सी फुटबल क्लब टोड बोहलीलाई बेच्ने निर्णयलाई अनुमोदन गरेको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्बन्ध राखेको कारण प्रतिबन्धित अब्रामोभिचले क्लब बिक्रीबाट आम्दानी हुने धन युद्धमा खर्च गर्दिनँ भनेर सुनिश्चित गर्नुपरेको थियो।
फिफा क्लब विश्वकप र २०२१ को युरोपेली च्याम्पियन चेल्सीलाई प्रिमियर लिगले स्वीकृत दिएसँगै ४ अर्ब २५ करोड डलरमा बेचिनेछ। मार्चमा अब्रामोभिचको सम्पत्ति फ्रिज भएदेखि चेल्सीले सरकारी लाइसेन्समा काम गरिरहेको छ, जुन मे ३१ मा समाप्त हुने छ।
अब्रामोभिचले १९ वर्षअघि चेल्सीलाई किनेका थिए। उनको लगानीले नै यसलाई युरोपेली फुटबलको सबैभन्दा सफल क्लब बनाइदियो। हालसम्म २१ वटा उपाधि जितेको पुरुष टोलीमा जम्मा १ अर्ब डलर खर्च भइसकेको छ।
अब्रामोभिचले चेल्सीको १.९ अर्ब डलरको ऋण तिर्ने बताएका छन्, तर बेलायती सरकारले लगाएको प्रतिबन्धले प्रक्रियालाई जटिल बनाएको छ।
युक्रेनमा रूसको आक्रमण सुरु भएपछि क्लब किन्न धेरै अर्बपतिहरु इच्छुक थिए। तर, लस एन्जलस डजर्सका मालिक टोड बोहलीले चेल्सीको नयाँ मालिक बन्न ४ अर्ब २५ करोड डलरको लगानी सुनिश्चित गरे।
चेल्सीले यस महिनाको सुरुमा बोहली, डजर्सका दोस्रो मालिक मार्क वाल्टर र स्विस अर्बपति हान्सोर्ग विसको टोलीसँग सम्झौता गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।