काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय फिफाको १० बर्षे प्रतिबन्धमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले आफ्नो चरित्र हत्या गरेको भन्दै कारबाहीको माग गरेका छन्।
बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकालाल घिसिङलाई ज्ञापनपत्र बुझाउँदै थापाले आफूमाथि चरित्र हत्या गर्ने एन्फा अध्यक्ष शेर्पामाथि कारबाही गर्न माग गरेका हुन्।
थापाले केही दिनअघि पत्रकार सम्मेलन गरेर शेर्पाले विभिन्न आरोप लगाएर आफ्नो चरित्र हत्या गरेको भन्दै कारबाहीका लागि विभिन्न निकायमा उजुरी दिने बताएका थिए।
त्यसपछि एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई जेठ ४ गते फिफाका प्रमुख सदस्य संघ अधिकृत केनी जीन मारी र एएफसीका उपमहासचिव वाहिद कर्दनीले एक पत्र लेखेर थापालाई फुटबलसम्बन्धि गतिविधिमा संलग्न हुन नदिन आग्रह गरेका थिए।
‘जबसम्म प्रतिबन्ध कायम रहन्छ फिफाले एन्फा र यसका सदस्यहरूले गणेश थापालाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तर (प्रशासनिक, खेलकुद वा अन्य) कुनै पनि प्रकारको फुटबलसम्बन्धी गतिविधिमा संलग्न हुन जानीजानी अनुमति नदिने अपेक्षा गर्दछ,’ पत्रमा भनिएको छ।
पत्रमा थापाले फिफाको निर्णय उल्लंघन गरेमा थप कारबाहीका लागि फिफा अनुशासन समितिमा रिपोर्ट गर्ने उल्लेख गरिएको छ।
तर, थापाले त्यसको एक हप्तापछि नै फिफाको उक्त पत्रलाई बेवास्ता गर्दै शेर्पाले चरित्र हत्या गर्ने उदेश्यले विभिन्न आरोपहरू लगाएको र उनलाई फिफा ‘कोड अफ इथिक्स’को आर्टिकल ५८ बमोजिम कारबाहीको माग गर्दै राखेपमा ज्ञापनपत्र बुझाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।