काठमाडौं– नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा मेघराज केसी नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोटका लागि केसीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।
टेक्निकल कमिटीको सिफारिसमा केसीलाई टिम हेर्ने जिम्मेवारी दिइएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए।
‘एन्फाको टेक्निकल कमिटीको सिफारिसमा उहाँलाई साफ र एएफसी यू–२० एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक नियुक्त गरिएको हो,’ तुलाधरले भने।
केसीले गत सिजनको ‘ए’ डिभिजन लिग सातदोबाटो यूथ क्लब सम्हालेका थिए। साफ यू–२० च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ।
च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ। त्यस्तै, भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ।
सबै खेल भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने छ। शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्ने छन्।
यता, एएफसी यू–२० छनोटमा नेपाल समूह ‘बी’मा छ। यस समूहको छनोट खेल बहराइनमा हुनेछ। समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ।
नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगालादेश रहेको छ। नेपालले भुटानसँग सेप्टेम्बर १० मा खेल्दा १२ सेप्टेम्बरमा कतारसँग खेल्नेछ।
नेपालले बहराइनसँग सेप्टेम्बर १४ र बंगलादेशसँग अन्तिम खेल सेप्टेम्बर १८ मा खेल्नेछ। समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन्।
यस्तै, समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले समेत यू–२० एसियन कप खेल्नेछ। एएफसी यू–२० एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
खेलाडी छनोटका लागि एन्फाले जिल्ला र क्लबलाई पत्र पठाइसकेको छ। यस्तै, एन्फाले यू– १७ राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक चाँडै टुङ्गो लाग्ने महासचिव तुलाधरले बताए।
‘एन्फा टेक्निकल कमिटिले सिफारिस नगरेको कारण ढिला भएको हो। आज वा भोलीमा यसबारे निर्णय हुने छ,’ उनले भने।
नेपाली यू– १७ टिमले अक्टोबरमा एसियन कप छनोट खेल्ने तालिका छ। यू–१७ एसियन कप छनोटको समूह ‘एफ’ नेपालसँगै थाइल्यान्ड, भियतनाम, चाइनिज ताईपेइ छन्। प्रतियोगिता अक्टोबर १ देखि ९ सम्म बहराइनमा हुने तालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।