काठमाडौं– अफ्रिकी राष्ट्र सेनेगलका स्टार फरवार्ड साडियो मानेले इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुल छोड्ने संकेत गरेका छन्।
उनले शनिबार स्पेनिस क्लब रियल मड्रिडविरुद्ध हुने च्यापियन्स लिग फाइनलपछि मात्र एन्फिल्ड बस्ने या नबस्ने निर्णय सार्वजनिक गर्ने बताएका छन्।
लिभरपुल स्पेनिस प्रतिद्वन्द्वी भिल्ला रियललाई सेमिफाइनलको दुवै लेगमा पराजित गर्दै च्याम्पियन्स लिगको उपाधिनजिक पुगेको थियो। लिभरपुलले भिल्ला रियलमाथि समग्रमा ५–२ को जित निकाल्न सफल भएको थियो। पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो।
यता, रियलले इङ्लिस प्रिमियर लिगको अर्को क्लब म्यानचेस्टर सिटीलाई सेमिफाइनलको दोस्रो लेगमा अतिरिक्त समयमा ३–१ को पुनरागमन तथा समग्रमा ६–५ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
मानेलाई रियल र बायर्न म्युनिख भित्राउने इच्छुक देखिएका छन्। पेरिस सेन्ट जर्मन (पीएसजी)का स्ट्राइकर किलियन एम्बाप्पेलाई अनुबन्धन गर्ने लक्ष्यले पूर्णता नपाएपछि रियल मानेलाई भित्राउन इच्छुक देखिएको हो।
यद्यपि, लिभरपुलसँग मानेको सम्झौता अझै एक वर्ष बाँकी छ। ‘म मेरो आगामी गन्तव्यको बारेमा च्याम्पियन्स लिगको फाइनलपछि मात्र सार्वजनिक गर्नेछु। म अहिले आफ्नो खेलमा केन्द्रित छु,’ मानेले भने।
लिभरपुलले प्रिमियर लिगमा दोस्रो स्थानमा चित्त बुझाएको थियो। आइतबार राति घरेलु मैदान एनफिल्डमा सम्पन्न अन्तिम खेलमा वल्भ्समाथि १ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै ३–१ को जित दर्ता गरे पनि लिभरपुल उपाधि जित्न असफल रह्यो।
तर, आइतबार नै घरेलु मैदान इतिहाद स्टेडियममा सम्पन्न निकै रोमान्चक खेलमा २ गोलले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै सिटीले उपाधि जित्यो।
सिटीले एस्टन भिल्लालाई ३–२ ले पराजित गरेको थियो। समग्रमा सिटी ३८ खेलमा ९३ अंकसाथ उपाधि जोगाउन सफल रह्यो। यता, लिभरपुल ३८ खेलमा ९२ अंकसाथ दोस्रो भयो।
लिभरपुलले यस सिजन इङ्लिस लिग कप र एफए कपको उपाधि जितेको थियो। लिभरपुल सातौं पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।