काठमाडौं– डच प्रतिद्वन्द्वी फियोनुर्डलाई हराउँदै इटालियन क्लब एएस रोमा युरोपा कन्फ्रेन्स लिगको च्याम्पियन बनेको छ।
अल्वानियामा बुधबार राति भएको खेलमा फियोनुर्डलाई १–० ले पराजित गर्दै रोमा पहिलो संस्करणको युरोपा कन्फ्रेन्स लिगको च्याम्पियन बन्न सफल भएको हो।
खेलको पहिलो हाफमा निकोलो जानिलोले गरेको गोल नै रोमालाई च्याम्पियन बन्न पर्याप्त बन्यो। उनले ३२औं मिनेटमा जियानलुका मान्सिनीको पासमा गोल गरेका थिए।
रोमाले ६० वर्षपछि युरोपियन लिगको उपाधि जितेको हो। रोमाले यसअघि युरोपियन लिगको रुपमा सन् १९६१ मा फेयर्स कप जितेको थियो। त्यसपछि रोमाले पछिल्लोपटक सन् २००७–०८ को सिजनमा कोपा इटालियाको उपाधि जितेको थियो।
प्रशिक्षक जोसे मौरिन्होले चार फरक क्लबबाट युरोपियन लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन्। यस्तै, मौरिन्हो पाँचौपटक युरोपियन फुटबल लिगको उपाधि जित्ने दोस्रो प्रशिक्षक बनेका छन्।
मौरिन्होले समान दुईपटक च्याम्पियन्स लिग र युरोपा लिग जितेका छन्। यसअघि जियोभानी ट्रापाटोनीले पनि विभिन्न पाँच उपाधि जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।