काठमाडौं– कुमारी बैंकको पूर्ण स्वामित्व रहेको कुमारी क्यापिटल लिमिटेडको म्युचुअल फण्ड कुमारी धनवृद्धि योजनाको इकाईका लागि बिहीबारदेखि आवेदन दिन सकिने भएको छ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो।
निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात् एक करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।
उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ।
कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा जेठ २६ गतेसम्म आवेदन म्याद थप गर्न सकिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।