काठमाडौं- एसियन कप छनोट र त्यसको तयारीका लागि राष्ट्रिय फुटबल टोली कतार प्रस्थान गरेको छ।
कुवेतमा हुने एसियन कप छनोटको लागि नेपाली राष्ट्रिय टोली बुधबार कतार प्रस्थान गरेको हो। नेपालले कतारमा इस्ट टिमोर र ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने छ।
एसियन कप छनोटका लागि अहिले कतारमा नेपालसँगै अस्ट्रेलिया, जोर्डन, भारत, इस्ट टिमोर, ओमान र न्युजिल्यान्डको प्रशिक्षण क्याम्प भइरहेको छ। कतार फुटबल फेडेरेसन (क्युएफए)ले त्यहाँ रहेका एसियाका ७ टोलीबीच ५ मैत्रीपूर्ण खेल खेलाउने तय गरेको हो।
जसअनुसार नेपालले ओमान र इस्ट टिमोरसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको हो।
नेपालले टिमोरसँग २८ मेमा पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ। यो खेल नेपाली समयअनुसार राति ९ः४५ बजे ग्रान्ड हामद स्टेडियममा हुनेछ।
यस्तै, ३ जुनमा ओमानसँग नेपालले दोस्रो खेल खेल्ने छ। उक्त खेल सुहिम बिन हामद स्टेडियममा नेपाली समयअनुसार राति ९ः४५ बजे नै हुनेछ।
यसअघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय थियो। तर, अफगानिस्तान भिषा प्रक्रियाका कारण कतार क्याम्पमा सहभागी नहुने भएपछि उक्त खेल रद्द गरिएको थियो।
घरेलु मैदानमा झन्डै ४५ दिनको प्रशिक्षणपछि नेपाली टोली थप तयारीका लागि बुधबार कतार प्रस्थान गरेको हो। टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबारै बिदाइ गरिसकेको छ।
कुवेत जानुअघि टोलीले ११ दिन कतारमा अन्तिम तयारी गर्ने राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए।
एसिया कप तेस्रो चरणको छनोटमा समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन्।
नेपालले पहिलो खेल जुन ८ मा जोर्डनविरुद्ध खेल्ने छ। यस्तै, नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध जुन ११ मा खेल्दा जुन १४ मा इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।