काठमाडौं– मर्सिसाइड क्लब लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले प्रिमियर लिगको ‘म्यानेजर अफ द इयर’ अवार्ड जितेका छन्।
लिग म्यानेजर्स एसोसिएसनले क्लोपलाई २०२१/२२ को सिजन उत्कृष्ट प्रशिक्षक घोषणा गर्दै उक्त अवार्ड प्रदान गरेको हो।
लिभरपुलले प्रिमियर लिगमा दोस्रो स्थानमा चित्त बुझाएको थियो। आइतबार राति घरेलु मैदान एनफिल्डमा सम्पन्न अन्तिम खेलमा वल्भ्समाथि १ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै ३–१ को जित दर्ता गरे पनि लिभरपुल उपाधि जित्न असफल रह्यो।
तर, आइतबार नै घरेलु मैदान इतिहाद स्टेडियममा सम्पन्न निकै रोमान्चक खेलमा २ गोलले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै म्यानचेस्टर सिटीले उपाधि जित्यो।
सिटीले एस्टन भिल्लालाई ३–२ ले पराजित गरेको थियो। समग्रमा सिटी ३८ खेलमा ९३ अंकसाथ उपाधि जोगाउन सफल रह्यो। यता, लिभरपुल ३८ खेलमा ९२ अंकसाथ दोस्रो भयो।
यस्तै, जर्मन प्रशिक्षक क्लोपले ‘द सर एलेक्स फोर्गुसन ट्रफी फर द एलएमए म्यानेजर अफ द इयर’ अवार्ड समेत जितेका छन्।
उनले लिभरपुललाई यस सिजन एफए कप र काराबाओ कपको उपाधि दिलाएका छन्। क्लोपको नेतृत्वमा लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।