फाइल तस्बिर
काठमाडौं- जुन ८ देखि १४ सम्म कुवेतमा आयोजना हुने एएफसी एसिया कप २०२३ को तेस्रो चरणका लागि मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ।
मंगलबार अबेर अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमको आयोजना गरेर नेपाली टोलीको बिदाइ गरेको हो। कुवेतमा आयोजना हुने छनोट खेलमा सहभागिता जनाउने खेलाडीको अन्तिम नामावली यस अघि शुक्रबार मात्र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले घोषणा गरेका थिए।
घोषणा गरिएको टोलीमा नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ सहित अन्य ९ खेलाडी विना नै मुख्य प्रशिक्षकले २३ सदस्यीय राष्ट्रिय टिमको नाम सार्वजनिक गरेका थिए। बन्द प्रशिक्षणमा रहेका बेला सेवा सुविधा पर्याप्त नभएको भन्दै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छाडेका १० खेलाडी बिना प्रशिक्षक अलमुताइरीले २३ सदस्यीय खेलाडीको सूची सार्वजनिक गरेका हुन्। पछिल्लो समय मुख्य प्रशिक्षक र खेलाडीबीचको टकराबमा किरणले साथ दिएका थिए।
यसपटक घोषणा भएको राष्ट्रिय टोलीमा चार नयाँ अनुहारले स्थान बनाएका छन्। रक्षक विकास तामाङ र शिव गुरुङसँगै मिडफिल्डर निरकुमार राई र रोशन रानामगरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। एसिया कप तेस्रो चरणको छनोटमा नेपाल समूह ए मा रहेको छ।
नेपाल सम्मिलित समूहमा आयोजक कुवेतसँगै बलियो जोर्डन र इन्डोनेसिया रहेका छन्। नेपालले जुन ८ मा जोर्डनविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ। यस्तै, दोस्रो खेलमा कुवेतविरुद्ध जुन ११ मा खेल्दा जुन १४ मा इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्ने तालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।