व्यास– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिलेको सत्ता गठबन्धन आगामी प्रदेश र संघीय चुनावसम्म जाने बताएका छन्। संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउनका लागि अहिलेको गठबन्धन प्रदेश र आम चुनावसम्म जाने पौडेलको भनाइ छ।
तनहुँको व्यास नगरपालिको विजय र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै नेता पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिकोबाटोमा अगाडि बढाउनका लागि परिवर्तनका पक्षधर पाँच दलका बीचमा गठबन्धन भएको दोहोर्याए।
सत्तारुढ गठबन्धनमा आवद्ध परिवर्तनका पक्षधरहरुको अभियान नेपाललाई समृद्ध बनाउने र नेपाललाई बचाउने अभियान भएको पौडेलले दाबी गरे।
व्यास नगरवासी र तनहुँवासीले मुलुक बचाउने, संविधान बचाउने र नेपाललाई विकास र समृद्धीको बाटोमा अगाडि बढाउने अभियानमा कांग्रेसलाई जिताएर सहयोग गरेको भन्दै पौडेलले आभार व्यक्त गरे।
उनले स्थानीय चुनावमा विजयी प्रतिनिधिहरुलाई जनताको विश्वासलाई टुट्न नदिइ, जनताको सेवक बनेर काम गर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।