काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि कर्मा छिरिङ शेर्पाले दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
एन्फाका वर्तमान अध्यक्षसमेत रहेका शेर्पाले असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि सोमबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
शेर्पा चार वर्षअघि मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भएका थिए। शेर्पाले ६३ मत प्राप्त गर्दा कुँवरले १२ मत प्राप्त गरेका थिए।
पत्रकार सम्मेलनमा एन्फाका उपाध्यक्षद्वय शिक्षित पराजुली, उपेन्द्रमान सिंह, महासचिव इन्द्रमान तुलाधर, पूर्वखेलाडी हरि खड्कालगायत विभिन्न जिल्ला, क्लब र संघका प्रतिनिधि सहभागी थिए।
एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भइसकेको छ। यसअघि आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन्।
शुक्रबार ललितपुरस्थित होटल हिमालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै वर्तमान वरिष्ठ उपाध्यक्ष नेम्वाङले उम्मेदवारी घोषणा गरेका थिए।
त्यसपछि उनले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। एन्फा निर्वाचन कमिटीका सदस्यसचिव बद्री भट्टराईका अनुसार सदस्य पदका लागि सुर्खेतका रवीन्द्र चन्द, जुम्ला शाखाका अध्यक्ष भरत बुढथापा र मोरङका दीपेन्द्र धिमालले पनि उम्मेदवारी दर्ता गराएका छन्।
यता, बाँकेका भोजराज शाही र कैलालीका अनिल मल्लले पनि सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
तर, आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वीरबहादुर खड्काले भने शुक्रबार उम्मेदवारी दर्ता गराएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।