काठमाडौं– यही जेठ १० गते 'भेरी घटना'को विरोधमा प्रतिरोध मार्च हुने भएको छ। कर्णाली आर्ट सेन्टर, प्रतिरोध : जनअधिकार आन्दोलन र बृहत नागरिक आन्दोलनको संयुक्त आयोजनामा ‘भेरी प्रतिरोध मार्च’ हुने भएको हो।
दुई वर्षअघि जाजरकोट र रूकुम पश्चिको सीमामा पर्ने भेरी नदी किनारमा जाजरकोटका नवराज बिक, लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, गोविन्द शाही र रुकुम पश्चिमका टीकाराम सुनारको ज्यान जानेगरी भएको घटनाको विरोध, उनीहरूले गरेको प्रतिरोधको सम्मान र सम्झनामा जात व्यवस्थाविरुद्ध घटनास्थलमा ‘भेरी प्रतिरोध मार्च’ हुने बताइएको छ।
गैरदलित प्रेमिकालाई बिहेका लागि लिन साथीसहित उनको गाउँ रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ पुगेका नवराज बिक र उनका साथीहरू गाउँलेबाट मारिएका थिए।
घटनाका आरोपित ३४ जनामध्ये ११ थुनामुक्त भइसकेका छन् भने २३ थुनामा छन्।
रुकुम नरसंहारसँगै दलितमाथि भइरहेका अन्य जघन्य अपराधको छानबिन गर्न, अपराधीलाई कानुनको कठघरामा ल्याएर कारबाही गर्न, पीडितलाई न्याय दिलाउन र जात व्यवस्थामा आधारित राज्यप्रणाली बदल्ने अभियानका साथ ‘भेरी प्रतिरोध मार्च’ को आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।