फाइल तस्बिर
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल अहिले मान्छे बेच्ने अनि मालसमान किन्ने देश भएको टिप्पणी गरेका छन्। शुक्रबार प्रतिनिधि सभाको प्रि बजेट छलफलमा सहभागी हुँदै कांग्रेस सांसद समेत रहेका थापाले देशमा व्यापारघाटा बढेकाले त्यसलाई रोक्नेगरी बजेट निर्माण गर्नुपर्ने बताए।
कृषिप्रधान देशका नागरिकको भान्छामा विदेशबाट आयातित वस्तु मात्रै प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने थापाको भनाइ छ।
‘अहिलेको आर्थिक अवस्था रातारात आएको हैन। तर, आज जो छौं उसैले गर्ने हो,’ उनले भने, ‘यसलाई सुधार गर्ने यो बजेट मौका हो। केही निर्वाचन क्षेत्र कार्यक्रम र नारामा रमाउने काम गरेर हामी कहीँ पुग्न सक्दैनौं।’
१०० रुपैयाँको आयात गर्दा ९ रुपैयाँको मात्रै निर्यात गर्ने देखिएको व्यापारघाटा बढ्दै गएको थापाले बताए।
‘नेपाल मान्छे वेच्ने र मालसमान किन्ने देश भएको छ। कृषिप्रधान देश भन्छौं, तर भान्छामा सबै विदेशबाट आएको चलाउने गरेका छौं,’ उनले भने।
थापाले जुत्ता र कपडाका लागि नेपालमा उद्योगहरु स्थापना हुनुपर्ने बताए। ९ करोड जुत्ता नेपालमा आवश्यक हुने, तर विदेशबाट ५ करोड आयात हुने गरेको थापाले सुनाए।
नेपाली बजारमा उत्पादन हुने बस्तुलाई प्राथमिकता दिँदै नेपाली श्रमिक समेत प्रयोग गर्न प्रोत्साहन दिनुपर्ने उनले बताए। उनले कपडा उद्योग पनि नेपालमा राम्रो हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।