काठमाडौं– गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई भेटेका छन्।
ललितपुरको हात्तीबनस्थित यादवको निवासमा भएको भेटमा नागरिकता विधेयक र सरकारले संसद्मा पेस गर्ने नीति तथा कार्यक्रमबारे छलफल भएको छ।
भेटमा समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने, सरकारको नीति तथा कार्यक्रमलगायत सरकारद्वारा संसद्मा पेस गर्न लागिएका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ।
प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि भेटमा छलफल भएको छ। दलीय सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा भएको कुराकानी सकारात्मक भएको बताइएको छ।
बिहीबारमात्रै गृहमन्त्री खाण र कानुन मन्त्री शर्माले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।