तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारका बेला भारतका लागि नेपाली राजदूत नियुक्त भएका दीपकुमार उपाध्यायलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो वर्ष वैशाखमा फिर्ता बोलाएको थियो। तर, ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएपछि उपाध्याय सोही वर्ष भदौमा पुनः भारतकै लागि राजदूत नियुक्त भएका थिए। तर, उपाध्यायले शुक्रबार ‘राजनीति र सामाजिक जीवनमा फर्कन’ भन्दै पदबाट राजीनामा दिएका छन्। उनका आगामी योजना के छन्, के चुनाव लड्लान्? यिनै विषयमा रहेर नेपाल लाइभका लागि किशोर दहालले उनीसँग छोटो कुराकानी गरेका छन्।
राजदूतको पदबाट किन राजीनामा दिनुभएको?
नाकाबन्दीका बेला देश अप्ठ्यारोमा थियो। त्यसलाई सहज अवस्थामा फर्काउने मेरो मिसन थियो। त्यो भूमिका पूरा गरें। अब देश र जनताका लागि यहीँ बसेरै समय दिनुपर्छ र भूमिका खेल्नुपर्छ भन्ने ठानें, त्यसैले राजीनामा दिएँ।
आगामी चुनाव लड्नका लागि राजीनामा दिनुभएको भनिन्छ नि!
त्यो त राजीनामा स्वीकृत भएपछिको कुरा हो। स्वीकृत भएपछि म जिल्ला जान्छु। त्यहाँका जनता र कार्यकर्ताले के भन्छन्, त्यो बुझ्छु। पार्टीले के भन्छ, त्यो पनि महत्त्वपूर्ण कुरा हो। चुनाव लड्ने नलड्ने त्यसपछिको कुरा हो।
राजदूत हुनुभयो, फिर्ता पनि बोलाइनु भयो, फेरि नियुक्त हुनुभयो तर अन्ततः राजीनामा दिनुभएको छ। राजनीतिक रिँगटा लाग्दैन?
मन नै त हो। महसुस गर्यो भने रिँगटा लाग्छ, नभए लाग्दैन। त्यसैले मलाई रिँगटा लागेको छैन। त्यसो त म सकारात्मक सोचको मान्छे हुँ। त्यसै हुनाले यस्तो कुराले असर गर्दैन।
फेरि चुनाव नै लड्नुपर्छ भन्ने चाहिँ किन लाग्यो?
यो मेरो इच्छा भन्दा पनि जुन माटो र जनताले यहाँसम्म पुर्याए, उनीहरुको पनि धेरै किसिमका भावना छन्। तीप्रति मेरो दायित्व छ। तर, यति भन्दै गर्दा यहाँ मर्यादित आचरणका कुरा पनि छन्। मैले राजीनामा दिएको छु। म चाहन्छु, त्यो स्वीकृत होस्। त्यसपछि मात्रै यसबारेमा थप छलफल हुनेछ।
चुनाव जितेर फेरि पनि मन्त्री हुने रहर छ कि?
होइन, होइन। एउटा भूमिका निर्वाह गरें। अब सबैसँग भेटघाट गरेपछि नयाँ भूमिका तय हुन्छ।
कहाँबाट चुनाव लड्नुहुन्छ?
अहिले त्यसको कुरै छैन। मैले सामाजिक र राजनीतिक जीवनमा सक्रिय हुने भनेर राजीनामा दिएको हुँ। त्यसैले राष्ट्रिय राजनीतिमा भूमिका हुन्छ नै। हेरौं, समयले कताकता डोहोर्याउँछ।
भारतीय नेतहरुसँग पनि सम्पर्कमा हुनुहुन्छ होला। पछिल्लो समय चर्चामा रहेको ‘वाम गठबन्धन’लाई कसरी बुझेका छन्?
अहिले यसबारेमा नबोल्नु उचित होला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।