काठमाडौं–बाजुराको बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृत कृष्ण सापकोटाले राजीनामा दिएका छन्। अधिकृत सापकोटाले आफू असुरक्षित भएको भन्दै राजीनामा दिएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताएका छन्।
शुक्रबार भएको निर्वाचनमा बुढीगंगाका विभिन्न मतदान केन्द्रमा झडप, उम्मेदवार घाइते, बुथ कब्जा, उम्मेदवारहरु मतदान केन्द्रबाट लखेटिएका, सुरक्षाकर्मी नै मतदान केन्द्र छोडेर भाग्नुपर्ने स्थिति सिर्जना भएको थियो। अधिकृत सापकोटा आफू असुरक्षित भएको भन्दै कार्यालय छाडेर शनिबार मार्तडीस्थित सदरमुकाम फर्केका थिए। एमाले कार्यकर्ताले उनलाइ उनलाइ बार्जुगाडमा फर्काएर मतपेटिका बुझाएका छन्।
निर्वाचन कार्यालयले १० वटा वडा रहेको बुढीगंगाका कुनै पनि मतदान केन्द्रको मतपेटिका बुझ्न मानेको थिएन। एमालेले मतपेटिका बुझेर मतगणना गर्न दबाब दिइरहेको छ भने अर्कोतिर नेपाली कांग्रेसले एमालेले वडा नम्बर २, ३, ५ र ९ मा बुथ कब्जा गरेको आरोप लगाएको छ। एमालेले पनि वडा नम्बर ४ र ७ मा कांग्रेसले बुथ कब्जा गरेको आरोप लगाएको छ।
सापकोटाको राजीनामा स्वीकृत भए नभएको बारेमा भने जानकारी आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।