ललितपुर–ललितपुरका विभिन्न स्थानबाट मतगणनास्थलसम्म मतपेटिका ल्याउन अझै बाँकी रहेको छ। पालिका केन्द्रबाट टाढा पर्ने वडामा रहेका मतदान स्थानबाट मतपेटिका ल्याउन बाँकी रहेको हो।
ललितपुर महानगरपालिकामा शनिबार बिहान ७ बजे बैठक सुरु गरेर ८ बजे मात्रै मतगणना गर्ने निर्णय भएको छ। उम्मेदवार र कर्मचारी सबै थाकेकाले शनिबार मतगणना सुरु गर्ने गरी छलफल भएको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए। महानगरमा जम्मा ८६ हजार ५४० मत खसेको छ। महानगरमा जम्मा मतदाता एक लाख २२ हजार ८९० रहेका छन्।
गोदावरी नगरपालिकामा मतपेटिका आउन अझै बाँकी रहेको छ। वडा नं ८ र ९ बाट मतपेटिका आउन बाँकी रहेको र त्यो आएपछि नै सर्वदलीय बैठक बसेर मतगणना शुक्रबार नै सुरु गर्ने वा शनिबार गर्ने भनी टुङ्गो लाग्ने निर्वाचन अधिकृत श्रद्धा रिजालले जानकारी दिइन्। नगरपालिकामा ५४ हजार ३९९ जना मतदाता छन्।
महाङ्काल गाउँपालिकामा नौ हजार १२ मतदाता रहेकामा सात हजार ६०० मत खसेको छ। यो ७७ दशमलव ९६ प्रतिशत हो। अझै दुई टाढा रहेका वडाबाट मतपेटिका आउन बाँकी छ । त्यहाँबाट आएपछि मात्रै मतगणना कहिले हुने भनी निर्णय हुने निर्वाचन अधिकृत सुशीला ज्ञवालीले जानकारी दिइन्।
बागमती गाउँपालिकामा जम्मा मतदाता १२ हजार ३२८ मध्ये नौ हजार ६१७ ले मत हालेको निर्वाचन अधिकृत नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए। यहाँ जम्मा ७८ दशमलव ०१ प्रतिशत खसेको छ।
कोञ्ज्योसोम गाउँपालिकामा ७५ दशमलव ५४ प्रतिशत मत खसेको छ। शुक्रबार नै मतपेटिका आएपछि सर्वदलीय बैठक हुने निर्वाचन अधिकृत देवीकुमारी चौधरीले जानकारी दिइन्। मतगणना शनिबार सुरु गर्ने तयारी रहेको उनले बताइन्। गाउँपालिकामा आठ हजार ५८८ मतदाता रहेका छन्। जिल्लामा कूल दुई लाख ४३ हजार ८८४ मतदाता पुगेका छन्। पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।