काठमाडौं–नेकपा एमालेले स्वतन्त्र निर्वाचनविरुद्ध सत्तापक्षीय गठबन्धनबाट ‘अधिनायकवादी’ कार्य भएको भन्दै त्यसप्रति विरोध जनाएको छ। अध्यक्ष केपी ओलीले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै सरकारको पूर्वाग्रही र पक्षपाती व्यवहारप्रति दुःख व्यक्त गरेका छन्।
निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने पार्टीको चाहना रहेको भए पनि गठबन्धनले केही स्थानमा आफूहरुविरुद्ध अग्रिम नक्कली मतपत्रसमेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रुपमा वातावरण विथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने काम गरेको आरोप एमालेले लगाएको छ।
ती स्थानमा गृहप्रशासन अस्वभाविक रुपमा असन्तुलित देखिएको र केही पालिकाका प्रमुखका उम्मेदवारलाई मतदान केन्द्र निरीक्षणमा बाधा पुर्याइएको एमालेले आरोप लगाएको छ।
‘स्वच्छ निर्वाचनविपरीतका घटना भएका, मतदान केन्द्रको अनधिकृत कब्जा गरिएका र भयत्रास सिर्जना गरी मतदातालाई आतंकित गरिएका स्थानमा पुनः मतदानको माग गरी विभिन्न जिल्लाबाट उजुुरीसमेत गरिएको छ। यसलाई गम्भीरतापूर्वक लिन म निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछु,’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।