काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई निर्वाचन आयोगले सोधेको भनिएको स्पष्टीकरणबारे थाहा नभएको बताएका छन्।
निर्वाचन आयोगले बिहीबार उनलाई 'यहाँको नाम निर्वाचन आचारसंहिता उल्लंघनकर्ताको रुपमा किन सार्वजनिक गर्नु नपर्ने हो?' भन्ने लगायतका प्रश्न सोधेर ८ घण्टे स्पष्टीकरण सोधेको थियो। तर शुक्रबार चितवनमा मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने- ८ घण्टे भन्ने त थाहा छैन। मैले सुनेको पनि छैन।
प्रचण्डले आफूले हँसिया हथौडामा मत नदिए देश राजनीतिक दुर्घटनामा पर्छ नभनेको बताए। उनले आफूले बोलेको कुराको गलत व्याख्या गरिएको बताए।
'मैले बोलेको समग्र स्टेटमेन्ट हेर्नुभयो भने मैले गम्भीरताका साथ र जिम्मेवारीका साथ जनतालाई अपिल गरेको छु। मैले हँसिया हथौडामा नहाले दुर्घटना हुन्छ भनेकै होइन', उनले भने।
प्रचण्डले गठबन्धन एउटा राजनीतिक दुर्घटना रोक्नका लागि जन्मेको बताए। 'गठबन्धन कमजोर भयो भने दुर्घटनाको सम्भावना छ। मेरो आशय त्यही नै हो। तर, यसलाई तोडमोड गरियो। हँसिया हथौडामा नहाले दुर्घटना, रेनुलाई नजिताए दुर्घटना भयो। यसलाई मैले पछि प्रष्ट पनि पारेको छु। कुरा त्यो हुँदै होइन', उनले भने।
उनले आफ्नै गृहजिल्लामा आएर मत माग्ने बेलामा जनतालाई धम्क्याउने हुन नसक्ने बताए। आफूले त जनतासँग अपिल गरेको उनको भनाइ छ। देशलाई राजनीतिक स्थायित्व दिन जनताको पनि हात छ है भनेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।