काठमाडौं- एम्बुलेन्स र बोलेरो गाडी ठोक्किँदा तुलसिपुर उपमहानगरपालिकाको राना गाउँमा संघीय सांसद टेकबहादुर बस्नेतसहित १० जना घाइते भएका छन्।
सल्यानबाट दाङतर्फ जाँदै गरेको संघीय सांसद बस्नेत चढेको बा ८ च ६९२५ नम्बरको गाडी दाङबाट सल्यान आउँदै गरेको ना अकथा ९४१ नम्बरको एम्बुलेन्ससँग ठोक्किएको हो।
सांसद टेकबहादुर बस्नेत चढेको गाडीमा उनीसहित तीन जना र एम्बुलेन्समा चढेका सात जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएको छ प्रहरीका अनुसार घाइते सांसदसहित सबैको प्रादेशिक अस्पताल तुलसिपुरमा उपचार भइरहेको छ। उनीहरु सामान्य घाइते रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय तुलसिपुरका अनुसार घाइते हुनेमा बोलेरोमा सवार बाग्चौर नगरपालिका घर भएका ५७ वर्षीय संघीय सांसद टेकबहादुर बस्नेत, उनका गाडी चालक २८ वर्षीय रमेश ओली, २४ वर्षीय महेश घर्ती छन्।
यस्तै एम्बुलेन्समा सवार रुकुम पश्चिम घर भएका ३२ वर्षीय कलिभान खत्री, ७४ वर्षीय विष्णु खत्री, २१ वर्षीय सुभाष शर्मा, ३२ वर्षीय शम्भुप्रसाद शर्मा, ४२ वर्षीय श्याम प्रसाद शर्मा, २६ वर्षीया राधिका शर्मा र ४८ वर्षीया पुतली खत्री पनि घाइते भएका छन्। गाडी दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।