चितवन- चितवनको भरतपुर महानगरपालिकामा मतगणनास्थलमा तारबार हालिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले भरतपुरको मतगणनास्थलमा तारबारको व्यवस्था गरिएको हो।
महानगरपालिकाको मतगणना हुने चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा फलामे बार हालिएको हो।
प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा मतगणनाको व्यवस्था भइरहेको हो। मतगणनास्थलमा सीसी क्यामेराको व्यवस्था गरिएको छ। प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा मतगणनाका लागि व्यवस्थापन गरिँदैछ। दलका प्रतिनिधिलाई जाली बाहिर बस्ने व्यवस्था गरिएको छ।
गत स्थानीय तह निर्वाचनको मतगणना चलिरहँदा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने र चपाउने गरेपछि विवाद भएको थियो।
माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल र नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीबीच मतमा प्रतिस्पर्धा चलिरहेको बेला माओवादी दुई प्रतिनिधिले मतपत्र च्यात्ने तथा चपाउने गरेका थिए।
उक्त निर्वाचनमा दाहाल विजयी भएकी थिइन्।
२९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा १ लाख ८५ हजार मतदाता छन्। यहाँ मतदानको लागि ६५ मतदानस्थल र २०२ वटा मतदान केन्द्र तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।