काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको अवसरमा जेठ दुई गते नेपाल आउँदै छन्।
बिहीबार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा आउन लागेको जानकारी दिएको हो।
मोदी लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने छन्।प्रधानमन्त्रीको रुपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हुने मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री देउवा र भारतीय समकक्षीले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजामा भाग लिने कार्यक्रम रहेको छ। त्यस्तै लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्र निर्माणको शिलान्यास गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
दुवै प्रधानमन्त्रीले लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतका प्रधानमन्त्री मोदीसँग भेट गर्नेछन्।
लुम्बिनीमा रहँदा दुवै प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता र विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री मोदी र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ।
भारतका प्रधानमन्त्रीको भ्रमणले द्विपक्षीय सम्बन्ध र सदियौंदेखिको सामाजिक-सांस्कृतिक बन्धनलाई अझ सुमधुर बनाउन मद्दत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।