काठमाडौं– जनकपुरमा पैसा बाँडेको आरोप लागेपछि विवादमा परेका मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले उक्त कुराको खण्डन गरेका छन्। नेपाल लाइभसँग कुरा गर्दै उनले आफूमाथि गुन्डाहरुले यस्तो आरोप लगाएको र त्यसको भण्डाफोर आफूले गर्ने बताए।
बिहीबार ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन नै गर्ने उनले बताए। ‘म जनकपुरमा एउटा कार्यक्रममा पुगेको हुँ । तर म बसेको होटलामा गुन्डाहरुले हो हल्ला गर्दै आरोप लगाए,’ उनले भने, ‘आज काठमाडौं फर्कने प्लेन टिकट थियो । प्रहरीले असुरक्षा देखेपछि आफ्नो गाडीमा विमानस्थलसम्म ल्याइदिएको हो।’
उनले आफूमाथि आरोप लगाउने एमालेका एक जना नेता पनि पक्राउ गरेको भन्दै यी सबै कुराहरुको केही बेरमा पत्रकार सम्मेलन नै गरेर भण्डाफोर गर्ने उनले बताए। ‘ममाथि लगाइएको आरोपबारे ३ बजे होटल हिमालयमा पत्रकार सम्मेलन राखेको छु,’ उनले भने, ‘त्यहीँ विस्तृत जानकारी गराउँछु। ’
उनीमाथि जनकपुरमा एमालेका बागी उम्मेदवार शान्तिराम साहको पक्षमा मत प्रभावित गर्न पैसा वितरण गरेको आरोप एमाले नेताहरुले नै लगाएर होहल्ला गरेका थिए। उनी बसेको होटलमा तोडफोडसमेत भएपछि प्रहरीले एमाले नगर कमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीलाई केही समय नियन्त्रणमा लिएको थियो।
उनले मुस्लिम मत प्रभावित पारेको भन्दै एमाले नेताहरुले हो हल्ला गरेर तोडफोडमा उत्रेपछि विवाद भएको थियो। विवाद बढेसँगै उनलाई सुरक्षा दिएको दाबी प्रहरीले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।