काठमाडौं– नेकपा एमाले चितवनले भरतपुर महानगरपालिकाको निर्वाचनलाई प्रभावित गर्ने हिसाबले राज्यको उच्च तहका व्यक्तिहरुबाट राज्यसत्ताको दुरुपयोग भइरहेको भन्दै निर्वाचन निष्पक्ष हुनेमा गम्भीर शंका पैदा भएको जनाएको छ।
जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले एक विज्ञप्ति जारी गर्दै कानुनलाई मिच्दै निर्वाचन आचारसंहिताको चरम उल्लंघन भइरहेको विषयमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘भोलि वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न हुन गइरहेको छ। निर्वाचनको ४८ घन्टाअगावै मौन अवधि सुरु भई आजसम्म कायमै छ,’ उनले भने, ‘तर राज्य सञ्चालनको जिम्मा लिएका भनिएकाहरुबाटै नेपालको संविधान, नियम, कानुनलाई मिच्दै निर्वाचन आचारसंहिताको चरम उल्लङ्घन भइरहेको दृष्यले नेकपा एमाले चितवनको गम्भीर ध्यानाकर्षण भएको छ।’
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठलगायतले मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको कुनै पर्वाह नगरी सरकारी सवारीसाधनको दुरुपयोग गरेको एमालेको आरोप छ।
‘भरतपुर महानगरपालिका र माडी नगरपालिकाका आम मतदाताको घर घरमा पुगी प्रभावमा पार्ने काम गरेको र मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरपालिका भित्र आर्थिक चलखेल गरेको भन्ने सूचना आएकोले आवश्यक छानविन गरी सो कार्य तुरुन्त रोक्न नेकपा एमाले चितवन जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
राज्यको उच्च तहमा रहेका व्यक्तिबाट नै यस प्रकारका कार्य हुनुले निर्वाचन निष्पक्ष हुनेमा गम्भीर शंका पैदा भएको एमालेको भनाइ छ। ‘आचारसंहिता गम्भीर उल्लंघन गर्ने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका भरतपुर महानगरपालिका र माडी नगरपालिकाका उम्मेदवारहरुको उम्मेदवारी रद्द गर्ने प्रक्रियासमेत अगाडि बढाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।