काठमाडौं– दाङको भालुवाङबाट पक्राउ परेका नेकपा (बहुमत) पार्टीका संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन्। प्रहरीले सोधपुक्ष पछि उनलाई छोडेको छ। बास्तोलाले आफू भर्खरै प्रहरीको नियन्त्रणबाट रिहा भएको जानकारी दिए।
‘म पोखराबाट कोहलपुरतिर जाँदै थिए। बुटवलमा घटना भएपछि उनीहरुले पछ्याइरहेका रहेछन्,’ उनले भने, ‘सोधपुक्षका लागि भन्दै नियन्त्रणमा लिएका थिए।’ संयोजक बास्तोलाले आफू पक्राउ परेपछि प्रहरीको नियन्त्रणमा रहेको अवस्थामै गृहमन्त्री र अर्थमन्त्रीसँग टेलिफोन कुराकानी गरेका थिए। बुटबलमा भएको विस्फोट र चुनावको बहिष्कारसम्बन्धी विषयलाई लिएर बिहीबार प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो।
प्रहरीको सोधपुछमा बास्तोलाले आफ्नो पार्टीले स्थानीय चुनाव विथोल्ने खालका क्रियाकलाप नगर्ने जानकारी गराएका छन्।बास्तोला पक्राउ परेपछि बुधबारै नेकपा (बहुमत)ले विज्ञप्ति जारी गर्दै तत्काल रिहा नगरी आन्दोलन गर्ने चेतावनी दिएको थियो।
केन्द्रीय कार्यालयको तर्फबाट हेमन्तप्रकाश ओलीले विज्ञप्ति जारी गर्दै बुटवलमा बम विस्फोट गराइनु र गिरफ्तार गर्नु सुनियोजित षड्यन्त्र रहेको कुरा स्पष्ट पारेका थिए। ‘आफ्नो स्पष्ट कार्यक्रम, कार्यदिशा र कार्यनीति पारित गरेको छ । यसले संसदीय व्यवस्थाको भण्डाफोर गर्दै वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्ने र स्थानीय निर्वाचन सन्दर्भमा पार्टीले चुनावमा भाग नलिने तथा देशभक्त र जनपक्षीय उम्मेदवारलाई सहयोग गर्न सकिने नीति लिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा आफ्नो पार्टीको कुनै पनि विस्फोटनजन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको कुरा स्पष्ट गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।