काठमाडौं–निर्वाचन आयोगले मतदान केन्द्रभित्र मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री लैजान नपाइने जनाएको छ।
‘मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने’ विषय जारी गर्दै आयोगले मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै पनि व्यक्तिले मतदान केन्द्रभित्र सलाई,लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै पनि हातहतियार, नमूना मतपत्रलगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाइने आयाेगले बुधबार जनाएको हो।
यस्तै, मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति , महिला मतदाताको साथमा रहेको बढीमा ५ वर्षको नाबालक एवं दृष्टिविहीन वा शारीरिक अशक्त मतदाताको सहयोगका लागि आएको एकाघरको परिवारका सदस्यलाई मात्र प्रवेश दिने व्यवस्था रहेको आयोगले जनाएको छ।
तर मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए पनि मतदान अधिकृतले केन्द्रमा प्रवेश गर्न दिनु नहुने आयोगले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।