काठमाडौं– साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक बढेर बन्द भएको छ। यो साता पहिलो कारोबार दिनदेखि नै उकालो लागेको नेप्सेले बुधबार ५६ अंकभन्दा बढीले बढेको हो।
बुधबार नेप्से परिसूचक ५६.०६ अंक बढेर २३६९.०६ विन्दुमा पुगेको छ। बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरेसँगै बजार बढेको विश्लेषण हुन थालेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ९.५२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४५ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। अघिल्लो कारोबार दिन डेढ अर्बभन्दा कम रकमको सेयर खरिदबिक्री भएको बजारमा आज २ अर्ब १६ करोड ३९ लाख ९० हजार रुपैयाँ बराबरको ५३ लाख ३३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। बुधबार २२९ कम्पनीको सेयर किनबेच भएको छ।
बुधबार ९ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेशनल हाइड्रोपावर कम्पनी, नेपाल फाइनान्स, सिनर्जी पावर, राधी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, जाल्पा लघुवित्त, गणपति लघुवित्त र वरुण हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन ७ कम्पनीको सेयर मूल्य मात्र घटेको छ। आज गुमाउनेमा अधिकांश ऋणपत्र र म्युचुअल फण्ड रहेका छन्।
कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १० करोड ५९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।