काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसद्मा प्रस्तुत गर्ने भएको छ। संघीय संसद्को बजेट अधिवेशन जेठ ३ गतेदेखि सुरु हुँदैछ।
सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसद्मा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।
संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते बजेट ल्याइसक्नुपर्छ। बजेट अगाडि संसद्मा सरकारको नीति तथा कार्यक्रम पेस गरिन्छ।
सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने संसद् सचिवालयका प्रवक्ता पाण्डेले जानकारी दिए।
प्रवक्ता पाण्डेले बजेट अधिवेशनको लागि संसद सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको बताए। उनले जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेटका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको पाण्डेले जानकारी दिए।
प्रवक्ता पाण्डेका अनुसार जेठ ४ र ५ गते संसद्मा प्रि–बजेटमा छलफल हुनेछ।
अर्थमन्त्री शर्माले जेठ १२ वा १३ गते आर्थिक सर्वेक्षणसम्बन्धी प्रस्ताव गर्ने र जेठ १५ गते बजेट भाषण गर्ने गरी तयारी भइरहेको पाण्डेले जानकारी दिए।
प्रवक्ता पाण्डेले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरु निरन्तर रुपमा चल्ने बताए। पाण्डेका अनुसार प्रतिनीधि सभासँगै ३ गतेबाट राष्ट्रिय सभाको बैठक पनि सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।