काठमाडौं- सत्ता गठबन्धनका शीर्ष नेताहरुले गठबन्धनको बलमा मुलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव रहेको बताएका छन्।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको हस्ताक्षरमा जारी भएको अपिलमा वैशाख ३० गतेको निर्वाचनमा गठबन्धनको पक्षमा मतदात गर्न आह्वान गरिएको छ।
'स्थानीय निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने छ। अर्को अर्थमा स्थानीय तह नै लोकतन्त्रको प्राणवायु हो। गठबन्धनको बलमा मलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव छ। यसर्थ गठबन्धनको पक्षमा मतदानका लागि यहाँहरुले विवेकको प्रयोग गर्नुहुने विश्वास लिएका छौं' विज्ञप्तिमा भनिएको छ।
दुई दुईपटक संसद विघटन भएपछिको असहज परिस्थितिमा 'संकीर्ण र निषेध' को राजनीतिकाविरुद्ध 'सहमति र सहकार्य को जगमा अहिलेको सरकार गठन भएको भन्दै अपिलमा लोकतन्त्र, मानवअधिकार, कानुनी राज, देशको विकास र समृद्धि, सामाजिक न्याय र स्वतन्त्रताको लागि गठबन्धनका पाँच दलले अविचलित रहने प्रण गरेको जनाएका छन्।
गठबन्धनमा रहेका दलहरुबीच तालमेलको अधिक प्रयत्नका बावजुद कतिपय पालिकामा 'मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको भन्दै उनीहरुले मतदान सन्निकट आइपुग्दै गर्दा 'मैत्रीपूर्ण प्रतिस्पर्धा मा उत्रेका विभिन्न पालिकाका विभिन्न पदका आफ्ना पार्टीका उम्मेदवारको अवस्था आकलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पार्टी तहमा उनीहरुले आह्वान गरेको विज्ञप्तिमा जनाइएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।