काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनको बचाउ गर्दै एमाले अध्यक्ष केपी ओलीको आलोचना गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले गठबन्धन गर्नुपर्ने अहिलेको अवस्था कसरी आयो भनेर ओलीलाई सोध्नुपर्ने बताएका हुन्।
'नेपालमा दुइटा पार्टी रहन्थ्यो होला, कांग्रेस र नेकपा। नेकपाले जिते नेकपाले चलाउँथ्यो, कांग्रेसले जिते कांग्रेसले। आज कलम आएको छ, हँसिया हथौडा आएको छ। कोही यहाँ मिलेर लडेका छौँ। कहीँ प्रतिस्पर्धा। यो अवस्ताको कारण को हो?', थापाले ओलीलाई सोध्नुपर्ने बताए।
आफूहरुले गठबन्धनको कारण यो भयो, त्यो भयो भनेर बोलेको एमालेको मञ्चबाट सुनिरहेको थापाको भनाइ छ। 'कांग्रेसको कार्यकर्तालाई बिचरा रुखमा भोट हाल्न पाएका छैनन् भनेको पाउँछौँ। काठमाडौंबासीले सोध्नुपर्छ, आम नेपालीले सोध्नुपर्छ। अघिल्लो चुनावमा ५९ वटा क्षेत्रमा नेकपा एमालेको उम्मेदवार पनि थिएनन्', उनले भने।
त्यतिबेला एमाले र माओवादी केन्द्रको तालमेल थियो। थापाले त्यसैलाई लक्षित गर्दै भने- 'त्यहाँ सूर्य चिह्नमा एक जनाले मत हाल्न पाएनन्। हँसिया र हथौडामा मत हाल्नुपर्यो। अस्ति भर्खर माओवादी केन्द्रका तमाम नेताहरुलाई जिताएर एमालेले पार्टी नै एउटै बनाएको होइन?'
थापाले यस चुनावमा आफूहरु गठबन्धन भनेर पाँचवटा पार्टी एक ठाउँमा उभिएको भन्दै पाँच पार्टी संसद्मा र सरकारमा पनि सँगै रहेको चर्चा गरे। 'तर एमालेसँग उभिएको पार्टी हामी हेरौँ। मकवानपुरमा गयो कमल थापा। चितवनमा आयो राजेन्द्र लिङ्देन। डाँडा चढ्यो विप्लव। ओरालो ओर्ल्यो सीके राउत। परिवार दलको साँचोदेखि सीके राउतको लाउड स्पिकरसम्म, कलम थापाको तीरदेखि राजेन्द्र लिङ्देनको हलोसम्म। सूर्यको झन्डा हेर्नुभयो भने घोच्दाघोच्दा प्वाल परिसकेको देख्नुहुन्छ', थापाको कटाक्ष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।