काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका शीर्ष नेतृत्वले सत्ता लिप्साका कारण आफ्नै पार्टीका मतदातालाई चुनाव चिह्न बिहीन बनाएको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा आयोजित चुनावी सभामा अध्यक्ष ओलीले चुनाव अघि रुखको झण्डा बोकेर हिँड्ने कांग्रेस कार्यकर्ताले भोट हाल्ने बेलामा दायाँबायाँ हेर्नुपर्ने अवस्था बनेको टिप्पणी गरे।
'चुनाव नआउँदा रुख बोकेर हिँड्ने, चुनाव आउँदा रुख घरमै राखेर हिँड्ने' ओलीले भने।
भरतपुर, पोखरा लगायतमा कांग्रेस कार्यकर्ता संकटमा परेको ओलीको भनाइ थियो। 'भरतपुरमा जाँदा केमा भोट हाल्ने भन्दा वरतिर परतिर हेर्नुपर्छ, पोखरामा जाँदा दमकमा जाँदा टुट्या हलो बोक्नु पर्छ' ओलीले भने, 'कांग्रेसका सत्ता स्वार्थयमा लिप्त भएका बाहेकका लागि कति पीडा भएको होला? जतिबेला चुनाव आउँछ त्यति बेला आफ्नो चिह्नमा भोट हाल्न त पाउने छैनन्।'
कसैको साखा सन्तानलाई जिताउन कांग्रेस कार्यकर्ताले अन्य दलको चिह्नमा मत दिइरहेको उनको भनाइ थियो।
'पाँच वर्ष अघि उसैलाई, अर्कैलाई पाँच वर्षपछि। अहिले पनि अर्कैलाई हाल्ने? जिताइएन भने देशलाई दुर्घटनामा गुल्टाइदिने, जितायो भने खुसी र उत्साही हुने अनि १५ वर्ष गठबन्धन जान्छ भन्ने र उसैका साखा सन्तानलाई जिताइरहनु पर्ने?'
'कांग्रेस कार्यकर्ताहरुले पोखरामा टुडो भाँचिएको पेन्सिल बोकेर हिँड्नु भएको छ। यो हालतमा कांग्रेसका नेताहरुले कांग्रेसलाई पुर्याएका छन्' ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।