काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले रुकुम पूर्वस्थित पुथा उत्तरगंगा गाउँपालिकामा आफ्ना कार्यकर्तामाथि माओवादीको भ्रातृ संस्था वाईसीएसलले सांघातिक हमला गरेको भन्दै घटनाको भर्त्सना गरेको छ।
मंगलबार एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै घटनाका दोषीहरुलाई कारबाही गर्न माग गरेका छन्।
‘निर्वाचन प्रचारको घरदैलो कार्यक्रममा सहभागी भइरहेको स्थानमा नेकपा माओवादीसम्बद्व वाईसीएलका कार्यकर्ताहरुले एक्कासी सांघातिक हमला गरी नेकपा एमालेका कार्यकर्ताहरुलाई घाइते बनाएको घटनाको घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
घरदैलो कार्यक्रममा सहभागी नेकपा (एमाले) कार्यकर्ता ३८ वर्षीया ठुँटी बुढा मगरलाई अपहरण गरी बेपत्ता बनाई क्रुरतापूर्वक हत्या गरिएको घटनाको पनि घोर भर्त्सना गर्दै दोषीमाथि अविलम्ब कानुनी कारबाही गर्न जोडदार माग गरेको छ।
‘नेकपा (माओवादी) केन्द्र सम्बद्ध वाईसीएलका कार्यकर्ताहरु कुमार सिंह, कृष्णबहादुर बुढा (किसान), विष्णु बुढा, महेन्द्र बुढा, जयकुमार बुढा, विभिचन बुढा, जनक कामी, मैते कामीलगायत करिब ४०/४५ जनाको समूहलाई छिटोभन्दा छिटो गिरफ्तार गर्न र यथाशीघ्र घटनाको छानबिन गर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
एमालेले घटना फेरि दोहोरिन नदिन नेपाल सरकारसँग जोडदार मागसमेत गरेको छ। ‘निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने दायित्व बोकेको सत्तारुढ गठबन्धन भय त्रास फैलाई हत्या–हिंसाको सहारामा धाँधली गरी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उद्दत रहेको स्पष्ट छ। यसको नेकपा (एमाले) घोर भर्त्सना एवम् निन्दा गर्दछ,’एमाले महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।