काठमाडौं– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक दलका शीर्ष नेताहरुले स्थानीय तहको निर्वाचनमा धावा बोलिरहेको बताएका छन्। दलका शीर्ष नेताहरुले स्थानीय निर्वाचनलाई थिचोमिचो गर्ने शैली अपनाएको श्रेष्ठको भनाइ छ।
आम निर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानुन समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले भने, 'स्थानीय निर्वाचनलाई स्थानीय आवश्यकता, स्थानीय पहिचानलाई परिपोषण गर्ने अवसर दिनुपर्नेमा त्यसलाई कतै विस्थापित त हुने अवस्था आएन?'
स्थानीय निर्वाचनमा स्थानीय आवश्यकता र स्थानीय पहिचानलाई परिपोषण गर्नुपर्नेमा नेताहरुले त्यसलाई विस्थापित गरेको उनको भनाइ छ।
‘हामी स्थानीय तहको निर्वाचन गरिरहेका छौँ। स्थानीय निर्वाचन गर्दा स्थानीय तहका आफ्ना सरोकारहरु, आफ्ना समस्याहरु, आफ्नै नेतृत्वका विकासका सम्भावनाहरुलाई खोजी गर्ने, पत्ता लगाउने र त्यसलाई प्रशस्त गर्ने वातावरण निर्माण गर्नुपर्ने हो,' श्रेष्ठले भने, 'तर अहिले पछिल्ला दिनहरुमा राष्ट्रिय स्तरका नेताहरुले ढंगले धावा बोलिरहनु भएको छ।'
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले दलका शीर्ष नेताहरुले वाकयुद्ध गरिरहेको बताए। नेताहरुका बीचमा सभ्य, सम्मानजनक र जवाफदेही संवाद हुनुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।