काठमाडौं– गोरखाको पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टी र नेकपा एमालेबीच तालमेल भएको छ।
दुवै पार्टीका जिल्ला नेतृत्वले मंगलबार पालुङटारमा तालमेल गर्ने सम्झौता गरेका हुन्। सम्झौताअनुसार पालुङटारको मेयरमा नेकपा एमालेले जसपालाई सघाउने छ। यस्तै, उपमेयरमा जसपाले एमालेलाई सघाउने छ।
दुवै पार्टीबीच वडा तहमा समेत तालेमेल गर्ने सहमति भएको छ। सहमतिअनुसार वडा नम्बर ६, ७ र १० मा जसपाले एमालेलाई सघाउने र वडा नम्बर ४ र ५ मा एमालेले जसपालाई सघाउने छ।
चुनावी तालमेलको सम्झौतामाम नेकपा एमालेका गोरखा जिल्ला कमिटी अध्यक्ष प्रेम गुरुङ र जसपाका गोरखा अध्यक्ष यान प्रसाद भट्ट (सरोज)ले हस्ताक्षर गरेका छन्।
पालुङटार जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको गृहपालिका हो। सत्ता गठबन्धनका दलहरुबीच गोरखाका केही पालिकामा तालमेल भएपनि पालुङटारमा नेपाली कांग्रेसले प्रमुख पदको दाबेदारी छाड्न मानेको थिएन।
उम्मेदवारी फिर्ताको समयपछि पनि कांग्रेस र जसपाबीच प्रमुख तथा उपप्रमुखको पदमा भागबण्डाको सहमति भएको थियो। तर, कांग्रेसको जिल्ला नेतृत्वले असहमति जनाएपछि सहमति भाँडिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।