काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय सरकारलाई सबल बनाउन आफ्नो पार्टीलाई मत दिन अपिल गरेका छन्।
स्थानीय तह निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा अगाडि सार्वजनिक अपिल जारी गर्दै देउवाले निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका छन्।
'स्थानीय तह निर्वाचन लोकतन्त्रको बलियो आधार हो। स्थानीय तह संघीय शासन प्रणालीको आधारस्तम्भ पनि हो। हरेक नागरिकका सुखदुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्र पनि हो। नेपाली कांग्रेसको नेतृत्वमा दशकौंसम्म भएका लोकतान्त्रिक संघर्षको अविराम यात्राका थुप्रै आरोह, अवरोह र चुनौति पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैं बनाउने अवसर प्राप्त गरेका छन्,' देउवाले भनेका छन्, 'अत्यन्त कठीन साधना र समर्पणको फलस्वरुप प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान अभियानमा निर्भिकता साथ सहभागी भइ मतदान गर्न आह्वान गर्दछु।'
पार्टीको पक्षमा मत माग्दै देउवाले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि घोषणा गरिएअनुसार चैत मसान्तभित्रै सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने वाचा पूरा गरिएको पनि दाबी गरेका छन्।
यस्तै, अन्योलमा रहेको मेलम्चीको खानेपानी यही बैशाख भित्र वितरण गरी काठमाडौं नगरवासीको आकांक्षा पूरा गर्न सरकार सफल भएको पनि देउवाले दाबी गरेका छन्।
'नेपाली कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ, मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित गरेको छ,' देउवाको अपिलमा भनिएको छ, 'सन्तुलित विदेश नीतिका कारण अन्तर्राष्ट्रिय समुदायमाझ भरोसा र विश्वास बढेको छ। संसद्बाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित भएसँगै पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग र लगानीका थप सम्भावनाका ढोका खुलेका छन्।'
प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारलाई निरुत्साहित गर्दै सुशासनका पक्षमा उल्लेखनीय काम गरिरहेको पनि दाबी गरेका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।