काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक डेभ वाट्मोरले ठीकै भनेका हुन्– नेपालको बलिङ बलियो छ। ब्याटिङमा धेरै सुधार गर्न बाँकी नै छ। त्यसको लागि अभ्यास खेलमार्फत् ब्याटरलाई धेरै मौका दिनुपर्छ।
हाल नेपाली क्रिकेट उनले भनेकै कुरा पछ्याइरहेको छ। अर्थात् नेपाली टोलीले पर्याप्त अभ्यास खेल खेलिरहेको छ। तर, ब्याटिङमा सुधारको लक्ष्य भने ठीक ३६० डिग्रीमा छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टेस्ट राष्ट्र जिम्बावे ‘ए’ विरुद्धको दुई एकदिवसीय खेल भइसक्दा पनि नेपाली खेलाडीबाट सुधारिएको ब्याटिङ प्रस्तुत हुन सकेको छैन।
शुक्रबार भएको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले जिम्बावेविरुद्ध बलियो लक्ष्य राख्न सकेन। १३६ रनमा अलआउट भएको नेपालका कोही पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्।
नेपालले नियमित अन्तरमा विकेट गुमाइरह्यो। ७ ब्याटर त एकल अंक स्कोरमै सीमित रहे। जसोजसो उक्त खेलमा नेपालले जिम्बावेलाई बलिङबाट दबाब दिइरह्यो। तर, खेल ३ विकेटले गुमायो।
शुक्रबार ब्याटिङमा गरेको गल्तीलाई शनिबार सच्याउने नेपाललाई ठूलो मौका थियो। अभ्यास खेल भएको कारण नेपालले गुमाउनुपर्ने त्यस्तो विषेश चिज केही थिएन। यस खेल नै नेपालको ब्याटिङ सुधारको लागि थियो।
शुक्रबारको खेलमा टस हारेपछि जिम्बावेले नेपाललाई ब्याटिङको मौका नै दिएको थियो। शनिबार पनि कप्तान सन्दीप लामिछानेले नै टस जिते। क्रिकेटमा टस जित्नुको मतलब हो, बलिङ या ब्याटिङमध्ये एक रोज्न पाउनु। अभ्यास खेल भएको कारण टस जितेपछि सन्दीपले लक्ष्य अनुसार ब्याटिङ रोज्नु पर्ने हो। तर, उनी शुक्रबार ब्याटिङमा देखिएको समस्यालाई ढाकछोप गर्न लागे। उनले पहिला बलिङ गर्ने निर्णय गरे।
दोस्रो खेलमा बलिङ बलियो नै देखियो। पहिलो बलमै पहिलो विकेट लिएको नेपालले जिम्बावेलाई ३१.५ ओभरमा ८७ रनमा अलआउट गर्यो। जिम्बावेका लागि तल्लोक्रमका जनथान क्याम्पबेलले ४२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २७ रन बनाए। ब्राड इभान्सले ३५ बलमा १ चौका र १ छक्कासहित २० रनमा अविजित रहे। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
तीव्र गतिका बलर करण केसीले ८ ओभरमा ३ मेडनसहित १७ रन खर्चेर ३ विकेट लिए भने सोमपाल कामीले उनलाई बलियो चुनौती दिए। सोमपालले पनि ७ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए।
यता, सन्दीप पनि नेपालका लागि फाइदाजनक भए। उनले २ विकेट लिए। र, जिम्बावेले नेपाललाई ८८ रनको सामान्य लक्ष्य दियो। एकदिवसीय क्रिकेटमा यो कुनै विशाल लक्ष्य थिएन। नेपाली ब्याटरले पनि सहजै पूरा गरे।
प्रारम्भिक ब्याटरद्वय सुनील धमला र आसिफ शेखले ७९ रनको साझेदारी गर्दै जितनजिक पुर्याए। सुनील ३८ रन बनाएर आउट भए। आसिफ भने ३४ रनमा नटआउट रहे। नेपाललाई जित ११.२ ओभरमै प्राप्त भयो।
प्रशिक्षक दासानायकेले जितमा खुशी व्यक्त गर्दै टिमको माथिल्लो क्रमका ब्याटरबाट अझ राम्रो प्रदर्शनको अपेक्षा रहेको बताए।
उनले भने, ‘पहिलो खेलमा हाम्रो प्रदर्शन धेरै हदसम्म खराब रह्यो। तर, म चाहन्थे, टिम धेरै खाले दबाबबाट गुज्रियोस्। पहिलो खेलमा नेपालले केही अझ राम्रो गर्न सकेको भए जित पनि हात लाग्न सक्थ्यो। अबका दिनमा नेपालले धेरै निर्णायक खेल खेल्नु छ र त्यसका लागि हामी टिम अझ मजबुत होस् भन्ने चाहन्छौं।’
उनको कुरा अलि अस्पष्ट थियो। मैदानमा खेलाडी खेल्ने भएपनि उनीहरुलाई मैदान बाहिरबाट खेलाउने जिम्मेवारी प्रशिक्षककै हो। तर, उनको कुरा गराइ र कप्तान सन्दीपले टस जितेर पहिला बलिङ रोज्नुले उनीहरुबीच तालमेल नभएको प्रष्ट देखियो।
हो, नेपालको ब्याटिङ निक्कै कमजोर छ। पुबुदुले भनेको जस्तै टिम धेरैखाले दबाबबाट गुज्रिनु पर्छ। ब्याटरले धेरै कुरा सिक्नुपर्ने छ। त्यसका लागि यस्ता अभ्यास खेल धेरै नै खेल्नुपर्छ। तर, कप्तान सन्दीप उनको कुरामा सहमत हुन सकेका छैनन्।
नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको भए सबैलाई उचित मौका दिएर ५० ओभर खेल्न सकिन्थो। तर, सन्दीप आफैं मुख्य बलर भएको कारण बलिङमा कुनै दबाब सिर्जना गर्न चाहँदैनन्। त्यसैले पहिला बलिङबाटै विपक्षीलाई दबाब सिर्जना गरेर सहज लक्ष्य राख्न खोज्छन्।
शुक्रबारको खेलमा पनि उनले पावरप्लेमा ५ ओभर बलिङ गर्दै विपक्षीलाई दबाबमा राख्ने कोशिस गरिरहे। पटकपटक उनी आफैं बलिङमा दोहोरिरहँदा एकदिवसीय क्रिकेटमा भर्खरै प्रवेश गरेका लेग स्पिनर सागर ढकाललाई पहिलो ओभरमै १७ रन खाएपछि कुनै मौका दिएनन्।
प्रशिक्षक पुबुदु मलेसिया–पपुवा न्यूगिनी सिरिजमा युवा र अनुभवी खेलाडीको सही संयोजन परीक्षण गरिरहेको भन्दै थिए। अहिले पनि उनले त्यही कुरा दोहोर्याउन छाडेका छैनन्। उनी नयाँ खेलाडीलाई मौका दिने पनि बताउँदै आएका छन्। तर, आदिल अन्सारी र विवेक यादव जस्ता ब्याटिङमा सम्भावना बोकेका नयाँ युवा खेलाडी अझै प्लेइङ ११ मा पर्न संघर्षरत छन्।
खेलको हारजितको पाटो पनि हुन्छ। त्यो अलग कुरा हो। तर, प्रशिक्षक पुबुदु र कप्तान सन्दीप मिडियाका अगाडि जसरी प्रस्तुत भएपनि ‘ड्रेसिङ रुम’मा हारजितको निक्कै ठूलो अर्थ राख्छन्। उनीहरु मैदान उत्रिनुभन्दा अगाडि स्पष्ट जित नै चाहन्छन्। त्यसैले कुरा गराइ र व्यवहारमा न सन्तुलन मिलेको देख्न पाइन्छ, न त कमजोरी सुधार गर्न चाहेको नै।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।