काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडी र प्रशिक्षकबीच विवादको सत्यतथ्य पत्ता लगाउन एक सदस्यीय समिति गठन गरेको समाचार हटाएको छ।
एन्फाले बुधबार दिउँसो विवादको तथ्य पत्ता लगाउन नेपाली सेनाका अवकाश प्राप्त पूर्वउपरथी भिक्टर शम्शेर जबरा रहेको एक सदस्यीय समिति गठन गरेको भन्दै आफ्नो वेबसाइटमा समाचार प्रकाशित गरेको थियो।
एन्फाको वेबसाइटमा प्रकाशित समाचारको आर्काइभ। जसलाई एन्फाले हटाइसकेको छ।
तर, केहीबेरमै उक्त समाचार एन्फाले खुसुक्क हटाएको हो। एन्फाका एक वरिष्ट पदाधिकारीका अनुसार उक्त समितिमाथि १० खेलाडीले आपत्ति जनाएपछि साइटमा प्रकाशित समाचार हटाइएको हो।
‘समाचारलाई एन्फा अध्यक्ष (कर्मछिरिङ शेर्पा) र महासचिव (इन्द्रमान तुलाधर)ले सार्वजनिक गर्न निर्देशन दिएपछि एन्फाको वेबसाइटमा राखिएका थियो। तर, फेरि यसमा खेलाडीले आपत्ति जनाएपछि हटाउन लगाएका हौं,’ ती पदाधिकारीले नेपाल लाइभसँग भने।
यता, एन्फा अध्यक्ष शेर्पाले भने समाचारमा केही गल्ति भएकाले सच्याउनका लागि हटाइएको प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।