काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन्।
मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नका लागि मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।
उनले मुलुकको विभिन्न क्षेत्रमा लेखा परीक्षण गरेर राष्ट्रको सम्पत्ति यकिन गर्न सक्नुपर्ने बताए। मुलुकभित्रका हिमाल, तराई, पहाड, नदी, झरना , श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखा परीक्षण गर्नुपर्ने बेला आएको मन्त्री शर्माले बताए।
उनले यस्ता कुराको लेखा परीक्षण नगरि राष्ट्र निर्माणलाई नयाँ दिशा दिन नसकिने बताए। मन्त्री शर्माले मुलुकको राष्ट्रिय स्वाधिनता जोगाउन र आत्मनिर्भर बनाउनका लागि आफ्नो इमान्दारिताको समेत परीक्षण गर्न जरुरी रहेको दोहोर्याए।
अर्थमन्त्री शर्माले मुलुकमा विद्यमान गरिबी अन्त्य नहुनुको कारण खोजी गर्न पनि लेखा परीक्षण गर्नुपर्ने बेला भएको बताए। ‘मुलुकमा गरिबी किन छ। बहुआयामिक रुपमा गरिबी किन छ यसको लेखा परीक्षण गर्ने बेला भएको छ। त्यसको त्रुटि पत्ता लगाउनु पर्यो। लेखा परीक्षण गर्दा कहाँ प्लसमा माइनस भयो। कहाँ शून्य राखियो। आज मुलुकको गरिबीको लेखा परीक्षण गरिएन भने गरिबी अन्त्य गर्न सक्दैनौं’, मन्त्री शर्माले भने।
अर्थमन्त्री शर्माले विगतमा लेखा परीक्षणमा कहाँ–कहाँ त्रुटी भएको छ? त्यसको खोजी भइरहेको बताए। लेखा परीक्षकहरुले परीक्षण गर्दा भाग गर्ने चिन्ह प्रयोग गर्नपर्ने स्थानमा गुणा गरियो भने ठूलो समस्या र चुनौती आउने भन्दै मन्त्री शर्माले इमानदार0, जिम्मेवार भएर लेखा परीक्षण गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।