काठमाडौं– मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन्।
१३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुनुपर्ने बताएकी छन्।
शुभकामना सन्देशमा भनिएको छ, ‘यस अवसरमा मुलुकको उद्योग, कृषि, निर्माण र सेवालगायत श्रमका विभिन्न क्षेत्रमा आफ्नो श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्ने सम्पूर्ण श्रमिकहरूप्रति म हार्दिक सम्मान प्रकट गर्दछु।’ विश्वभरिका श्रमिकहरूले एकापसमा ऐक्यबद्धता आदानप्रदान गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ।
‘नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ,’ सन्देशमा भनिएको छ, ‘न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानको कार्यान्वयन गरी श्रमजीवी नागरिकलाई त्यसको प्रत्यक्ष लाभ सुनिश्चित गर्नु हाम्रो दायित्व हो।’
जनताको आकाङ्क्षाबमोजिम आर्थिक समृद्धि हासिल गर्न स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक भएको र त्यसका लागि कृषि, वन, पर्यटन र जलस्रोतमा आधारित उद्योग र सेवा क्षेत्रको विकास गर्दैै रोजगारीको खोजीमा विदेशिन बाध्य लाखौँ युवा जनशक्तिका लागि समेत स्वदेशमै अवसरको सिर्जना गर्नुपर्ने उल्लेख छ।
‘आप्रवासी श्रमिकको मानवअधिकार रक्षा गर्न सम्बद्ध निकाय र क्षेत्रहरूले निरन्तर पहल जारी राख्नु पर्दछ,’ राष्ट्रपतिको सन्देशमा भनिएको छ, “उद्यमशीलता विकासका लागि पूँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकाले श्रमको सम्मान गर्ने संस्कृतिको निर्माण गर्नेतर्फ हामी सबैको प्रयास रहनु अत्यन्त आवश्यक छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।