काठमाडौं– अटेरी अभियानबाट पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले अन्तत: 'लौरो' चुनाव चिह्न पाएका छन्।
शनिबार सुरुमा चुनाव चिह्न वितरण गर्दा पौडेलले 'लौरो' चिह्न पाएका थिए। तर, पछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले पौडेललाई फोन गरेर उक्त चिह्न दिन नसकिने बताएको थियो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले 'लौरो' दिन नसकिने बताएपछि अटेरी समूहका कार्यकर्ताहरुले निर्वाचन अधिकृतको कार्यालय अगाडि प्रदर्शन गरेका थिए।
मेयरका उम्मेदवारी पौडेलले निर्वाचन कार्यालयबाट आफूलाई फोन गरेर लौरो दिन नसकिने भन्ने आशय व्यक्त गरिएको बताएका थिए।
कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले आठौं लहरमा रहेको मतपत्र छाप्ने भएपछि लौरो चिह्न दिने निर्णय भएको जानकारी दिए।
'निर्वाचन आयोगले यसअघि जति स्वतन्त्र उम्मेदवार छन् त्यहीअनुसार चुनाव चिह्न दिन निर्देशन दिएकाले प्राविधिक कारणले लौरो दिन नसकिने भनेका थियौं,' मुख्य निर्वाचन अधिकृत भट्टराईले भने, 'अहिले आठौं लहरमा रहेको मतपत्र छाप्ने भन्ने भएपछि लौरो दिन सकिने निर्णय भएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।