काठमाडौं– अटेरी अभियानको तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले शनिबार लौरो चिह्न पाए। लगत्तै उनले त्यसलाई सामाजिक सञ्चालमा राख्दै प्रचार पनि गरे।
तर, निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको तीन घण्टा नबित्दै सो चिह्न दिन नमिल्ने आशयको फोन आएको उनले बताएका छन्।
'अभियानबाट त्रसित दलको प्रभावमा निर्वाचन आयोगले हामीलाई ३ घण्टा अघि नै प्रदान गरेको चुनाव चिन्ह 'लौरो' लाई अहिले आएर 'दिन नमिल्ने' भन्ने प्रकारको फोन जानकारी गराएको छ', उनले फेसबुकमा लेखेका छन्।

उनले आयोगसँगको छलफलबाटै सो चिह्न लिएको नेपाल लाइभसँगको कुराकानीमा बताए।
आफैंले दिएको सूची मध्येबाट पाएको चिह्नलाई 'दिन नमिल्ने' भनेर निर्वाचन आयोगले आफू 'निष्पक्ष' नरहेको संकेत दिएको उनको भनाइ छ।
उनले साँझ अबेरसम्म पत्रकार सम्मेलनको तयारी गरिरहेको बताएका छन्।
नेपाल लाइभसँग कुरा गर्दै गनेस पौडेलले भने-
हामी बिहान साढे १० बजेतिर निर्वाचन आयोग पुगेर, छलफल गरेर, सकभर एउटै चिह्न लिने भनेर लौरो चिह्न रोज्यौँ। हामीले पनि त्यही अनुसार फर्म बुझायौँ। उनीहरुले पनि त्यही चिह्न दिए। त्यहाँबाट हामी निस्कियौँ।
केहीबेर अघि (पौने ४ बजेतिर) यहाँको निर्वाचन अधिकृतले फोन गरेर तपाईंहरुलाई लौरो चिह्न दिन मिल्दैन, अर्को चिह्न लिन आउनुस् भन्नुभयो।
मैले 'आउँदिनँ, पत्रकार सम्मेलन गर्छु, जे गर्छौ गर' भनेको छु।
पोखरामा अटेरीको प्रभाव अत्यधिक छ। त्यसैले निर्वाचन आयोगका कर्मचारी कुनै न कुनै तरिकाले दलीय प्रभावमा परे भन्ने देखिन्छ। त्यसैले निर्वाचन आयोगले बोलाएको बैठकचाहिँ बहिस्कार गर्छौँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।