काठमाडौं– निर्वाचन आयोगले शनिबार निर्वाचन चिह्न वितरण गरेको छ। वैशाख ३० मा हुँदै गरेको निर्वाचनका लागि शनिबार सम्बन्धित जिल्लाहरुमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न वितरण गरेको हो।
काठमाडौं महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले लौरो चुनाव चिह्न पाएका छन्। काठमाडौंमा सत्ता गठबन्धनका तर्फबाट सिर्जना सिंह र एमालेबाट केशव स्थापित प्रतिस्पर्धामा छन्।
त्यस्तै, भरतपुर महानगरपालिकाका चर्चित उम्मेदवार जगन्नाथ पौडेलले भूइँकटहर चुनाव चिह्न पाएका छन्। पौडेलको उम्मेदवारी फिर्ता गराउन कांग्रेसका नेताहरुले निकै प्रयत्न गरेका थिए। तर उनले मानेनन्। भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट रेणु दाहाल र एमालेबाट विजय सुवेदी चुनावी प्रतिस्पर्धामा छन्।
पोखरा महानगरपालिकामा अटेरी अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले पनि लौरो चिह्न पाएका छन्। सो महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट धनराज आचार्य र एमालेको तर्फबाट कृष्ण थापा उम्मेदवार छन्।
विराटनगर महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले लालटिन चुनाव चिह्न पाएका छन्। यादव आफ्नो पार्टी जसपाबाटै मेयरको उम्मेदवार बन्न चाहन्थे। तर, पार्टीले टिकट नदिने भएपछि पार्टी नै परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। २०७४ सालको निर्वाचनमा पनि प्रतिस्पर्धी रहेका उनी तेस्रो भएका थिए। अहिले सो महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट नागेश कोइराला र एमालेको तर्फबाट सागर थापा मेयरका उम्मेदवार छन्।
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले आँप चुनाव चिह्न पाएका छन्। सो उपमहानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट नृपबहादुर वड र एमालेको तर्फबाट रणबहादुर चन्द उम्मेदवार छन्। २०७४ सालको निर्वाचनमा पनि हमालले स्वतन्त्र उम्मेदवारी दिएका थिए। त्यतिबेला उनी वडसँगै पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।