काठमाडौं- सत्ता गठबन्धनका शीर्ष नेताहरु नै बसेर ६ महानगर र दुई उपमहानगरमा भागबन्डा गर्ने निर्णय गरे। त्यसको कार्यान्वयन गर्ने उनीहरुको प्रतिबद्धता थियो। तर, कांग्रेसले प्रमुख नपाएका दुई महानगर र एक उपमहानगरमा बागी उम्मेदवारी पर्यो भने उपप्रमुख नपाएको एउटा उपमहानगरमा बागी उम्मेदवारी थियो।
भरतपुर र पोखराको बागी उम्मेदवारी फिर्ता गराउने नेताहरुको कोशिसमा आंशिक सफलता मिल्यो। जनकपुर उपमहानगरपालिकाका प्रमुख र धनगढी उपमहानगरपालिकाका उपप्रमुखको उम्मेदवारी कांग्रेसले फिर्ता गराउन सकेन।
भरतपुर नगरपालिकाका बागी जगन्नाथ पौडेललाई फिर्ता गराउन सवैभन्दा बढी कोशिस भएको थियो। निरन्तर माओवादी केन्द्रलाई मेयर दिने गरिएको विषयले कांग्रेसजनमा बढ्दो असन्तुष्टिलाई लिएर कांग्रेसका पूर्व संविधानसभा सदस्य समेत रहेका पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।
पौडेलप्रति स्थानीय नेता-कार्यकर्ताको सद्भाव समेत रहेकाले उनी बागीमा रहँदा गठबन्धनले तय गरेकी उम्मेदवार रेणु दाहालले जित्ने सम्भावना कमजोर हुने भएकाले गृहमन्त्री बालकृष्ण खाण, राज्यमन्त्री उमेशलाल श्रेष्ठसमेत त्यहाँ पुगेका थिए।
पौडेलले कांग्रेस जोगाउन बागी उम्मेदवारी दिएको बताउँदै कारबाही भोग्न तयार रहेको बताएका छन्। उम्मेदवारी फिर्ता लिने समय सकिएपछि बोल्दै उनले भनेका छन्, 'रुखलाई जोगाउन बली चढेको हुँ।'
पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्यले टिकट पाएका छन्। तर, त्यहाँ पनि कांग्रेस नेता-कार्यकर्ताहरुले आफूले प्रमुख पाउने भन्दै मनोनयनको दिनसम्म विरोध गरिरहे। तीनजनाले बागी उम्मेदवारी दिए। ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले फिर्ता लिएपनि विमल कार्की कायम छन्।
पोखरा नगर कार्यसमितिका पूर्व सचिव समेत रहेका कार्कीले अन्य पार्टीको चुनाव चिह्नमा मतदान गराउने सभापति शेरबहादुर देउवाको निर्णयविरुद्ध बिद्रोह गरेको बताएका छन्।
यसैगरी जनता समाजवादी पार्टीको भागमा परेको जनकपुर उपमहानगरपालिकामा कांग्रेसस मनोज शाहको बागी उम्मेदवारी छ। पार्टी नगर प्रमुख समेत रहेकाका उनले स्वतन्त्र उम्मेदवारी दिएकलगत्तै सवै वडामा सम्पर्क कार्यालय खोजेर प्रचार-प्रसार थालेका थिए।
पार्टीबाट कारबाही भोग्न धम्की दिनुअघि आफूले पार्टी छाडेकाले फिर्ताका लागि दबाबको औचित्य नभएको उनले सुरुदेखि नै बताउँदै आएका थिए। उनले वैशाख ९ गते पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएर बागी लड्ने निर्णय लिएका थिए।
धनगढी उपमहानगर पालिका प्रमुखमा कांग्रेसकै नृपबहादुर वड दोहोर्याउने गठबन्धनको निर्णय छ। तर उपप्रमुख भने नेकपा माओवादी केन्द्रको भागमा परेको छ। उक्त उपमेयरमा कांग्रेसका नेता प्रभाकर भण्डारीले बागी उम्मेदवारी दिएका छन्।
फिर्ता लिन नेताहरुले गरेको आग्रह पन्छाउँदै उनी प्रचारमा होमिएका छन्। दुई कार्यकाल कैलाली काँग्रेसको कोषाध्यक्ष भइसकेका नेता भएका कारण गठबन्धनको राम्रै भोट काट्न सक्ने अनुमान छ। त्यही कारणले फिर्ता गराउन नेताहरुले कोशिस गरेका थिए।
पार्टीको निर्णय विपरित उम्मेदवारी दिएका उनीहरु स्वत: पार्टीबाट निष्काशित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।